बाल विकास 7 - दुईदेखि तीन वर्ष

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

दोस्रो जन्मदिनपछि, तपाईंको बच्चाको शारीरिक वृद्धि रचाल विकासको गति पूर्णतया कम हुनेछ। तथापि, तपाईंले उहाँको बौद्धिक, भाषागत, सामाजिक र भावनात्मक विकासमा अद्भुत परिवर्तनहरू देख्नुहुनेछ। तपाईंको बढिरहेको अपेक्षा र उहाँको बढ्दो आत्मनिर्भरताको कारणले उठ्ने मतभेदहरू दुवैको लागि निकै भावनात्मक हुन सक्नेछन्। यी परिवर्तनहरूलाई बुझ्ने र स्वीकार्ने तथा सकारात्मक पालनपोषण रणनीति अपनाउने गर्नाले आगामी वर्षहरूमा तपाईं दुवैजनाको लागि सहज हुनेछ। उहाँले सहज, सक्षम र विशेष महसुस गर्न सिक्नुहुनेछ। यी भावनाहरूले उहाँलाई सकारात्मक स्ववं छवि विकास गर्न र भविष्यका सामाजिक मागहरूमा सहजरूपमा समायोजन गर्न मद्दत गर्नेछन्।

यो अवधिको अन्त्यसम्म, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • छिटो दौडिन
  • बललाई खुट्टाले हान्न
  • राम्रोसँग उफ्रिन र चढ्न
  • कुनै मद्दतबिना सिँढीबाट तलमाथि गर्न
  • ट्राइसाइकल कुदाउन

हात र औंलाका सीपहरू

  • पेन्सिल समातेर कागजमा ठाडो र तेर्सो कोर्न
  • निर्माण खेलौनाहरूले सामान्य मोडेल बनाउन
  • माला उन्न
  • एक पटकमा एउटा गरेर किताबको पृष्ठ पल्टाउन
  • खेलौनाहरूमा हावा भर्न

भाषाको विकास

  • छोटो आदेशहरूको पालना गर्न (उदाहरणको लागि, “कारलाई खेलौनाको बाकसमा राख्नुहोस्।”)
  • एकदमै सामान्य वस्तु र तस्वीरहरू स्वीकार र पहिचान गर्न
  • क्रिया र विशेषणहरू बुझ्न (उदाहरणको लागि, “खोल्नुहोस्”, “तातो”, आदि)
  • सरल 'हो/होइन', 'के' र 'कहाँ' भन्ने प्रश्नहरूको उत्तर दिन
  • वाक्यांश वा सरल वाक्यहरूमा बोल्न (उदाहरणको लागि, "आमा कुकीहरू चाहनुहुन्छ”, “बल कहाँ छ?”)
  • सर्वनामहरूको प्रयोग गर्न सुरु गर्न (उदाहरणको लागि, “मलाई मेरो कप चाहियो”)
  • सोधेको समयमा नाम र उमेर बताउन
  • 'के' प्रश्नहरू सोध्न मनपराउन

संज्ञानात्मक विकास

अहिलेसम्म तपाईंको बच्चाको सिकाई प्रक्रिया थप विचारपूर्ण भएको छ। उहाँले भाषाको आधारमा वस्तु, कार्य र अवधारणाहरूको मानसिक छविहरू बनाउन सुरु गर्नुहुन्छ। उहाँले अब भौतिक रूपमा वस्तुहरू हेरफेर गर्नेमा आश्रित नभएर मानसिक रूपमा समस्या समाधान गर्न सक्नुहुन्छ। उहाँको सुध्रिएको स्मरणशक्ति र ध्यानाकर्षणले उहाँलाई शान्त खेलहरूमा थप केन्द्रित हुन र संलग्न हुन अनुमति प्रदान गर्छ। उहाँले वस्तुहरूको बीचको सम्बन्ध बुझ्न थालेपछि, उहाँले सामान्य पजलहरू मिलाउने र विभिन्न वर्गीकरण खेलहरू खेल्न रमाइलो मान्नुहुनेछ। “कारण र प्रभाव” को अवधारणाले उहाँलाई निश्चित खेलौनाहरूले कसरी कार्य गर्छन् भनी बुझ्न मद्दत गर्छ, उदाहरणको लागि खेलौनाहरूमा हावा भर्ने। त्यसपछि पनि, उहाँ अमूर्त तार्किक तर्क गर्न अझैपनि सक्षम हुनुहुन्न। संसारको बारेमा उहाँको दृष्टिकोण साधारणप्रत्यक्ष हुन्छ। उहाँले तपाईंका शब्दहरूलाई पूर्णरूपमा बुझ्ने र चुट्किलाहरू बुझ्न नसक्ने भएकाले, तपाईंले आफ्नो शब्दहरूको छनोट गर्दा ध्यान दिनुपर्नेछ।

  • वस्तुहरूलाई तस्वीरहरूसँग जोडा मिलाउन
  • केही रङहरूलाई छुट्याउन र पहिचान गर्न
  • संख्याको अवधारणाहरू बुझ्न सुरु गर्न, “एक” र “दुई” को अवधारणा थाहा पाउन
  • 3-4 टुक्राको पजलहरू पूरा गर्न
  • खेलको नाटक गर्ने, भूमिकाहरू निभाउने कार्यमा थप विस्तृत हुन (उदाहरणको लागि, चिकित्सक वा शिक्षक बनेको नाटक गर्ने)।

सामाजिक तथा भावनात्मक विकास

  • अझै स्वयं-केन्द्रित हुन
  • वयस्क र साथीहरूको तरिका र व्यवहारहरूको नक्कल गर्न
  • परिचित साथीहरूलाई माया देखाउन
  • पालो लिन र साझा गर्न सुरु गर्न
  • दुखी भएको समयमा रिसाउन र विद्रोही व्यवहारहरू देखाउन

स्वयं स्याहार सीपहरू

  • दिउँसोमा सुकिलो रहन
  • थप सिपालु तरिकाले आफै खान
  • सामान्य वस्त्रहरू लगाउन र खोल्न

सानो बच्चाको विकासलाई प्रेरित गर्ने

यो उमेरका बालबालिका अत्यन्तै सक्रिय र ऊर्जावान हुन सक्छन्। तपाईंको बच्चालाई विस्तारै हिँड्ने वा नचली बस्ने कार्यभन्दा दौडिने, उफ्रने र चढ्ने कार्य मनपर्नु स्वभाविक हो। उहाँ सक्रिय बच्चा हुनुहुन्छ भने, आफना अपेक्षाहरू समायोजित गर्नुहोस्। उहाँलाई बन्द परिवेशमा राख्नुको सट्टा, आफ्नो निगरानीमा उहाँलाई सुरक्षित, खुला स्थान (उदाहरणको लागि, खेलमैदान र पार्कहरू) मा दौडिन र हिँडडुल गर्न दिएर उहाँको ऊर्जा निकास गर्ने अवसरहरू उपलब्ध गराउने प्रयास गर्नुहोस्।

आफ्नो बच्चासँग समय बिताउन जारी राख्नुहोस्; उहाँलाई माया गर्नुहोस् र ख्याल राख्नुहोस्। आफ्नो बच्चासँग सामान्य नियमहरूको स्थापना गर्नुहोस् र यिनीहरूको निरन्तर पालना गर्नुहोस्। उहाँको प्रशंसा गरेर वा सकारात्मक मनोयोगले इच्छित व्यवहारलाई प्रोत्साहित गर्नुहोस्। तपाईंको बच्चालाई सिक्नको लागि राम्रो उदाहरण तय गर्नुहोस्।उहाँलाई नयाँ सीपहरू सिकाउनको लागि हरेक अवसरको प्रयोग गर्नुहोस्।

नर्सरी विद्यालयमा उपस्थित हुनाले उहाँले घरबाहिरका अन्य बालबालिका र वयस्कहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउनुहुनेछ। यसले उहाँको सामाजिक सीपहरू सुधार्न मद्दत गर्नुका साथै घरमा बनाइएका नभई थप औपचारिक नियमहरूसँग परिचय गराउनेछ।

तपाईं के गर्न सक्नुहुन्छ:
  • आफ्नो बच्चालाई विभिन्न शारीरिक क्रियाकलापहरूमा कम्तीमा दिनको 3 घण्टा बिताउन।

    आफ्नो बच्चालाई हरेक दिन बाहिर ल्याउन, उहाँलाई दौडिन, खेल्न र अन्वेषण गर्न दिन, उदाहरणको लागि, खेलमैदान र पार्कहरूमा

  • आफ्नो बच्चालाई एकपटकमा 1 घण्टा भन्दा बढी समयको लागि स्ट्रोलर वा अग्लो कुर्सीमा नराख्न।
  • आकार, रङ र सङ्ख्याको अवधारणाहरूको परिचय गराउनको लागि दैनिक जीवनको क्रियाकलापहरूको प्रयोग गर्न
  • आफ्नो बच्चासँग हरेक दिन पढ्न, उहाँलाई नयाँ शब्दहरू सिक्न प्रोत्साहित गर्न, उहाँको वाक्यहरू लम्बाउन र सामान्य प्रश्नहरूको उत्तर दिन मद्दत गर्न
  • गतिविधि-उन्मुख, रङ्गीन तस्वीर पुस्तकहरू वा छोटो कथाहरूले पढाईमा उहाँको ध्यानलाई एकाग्र राख्न मद्दत गर्न सक्छन्
  • उपलब्ध घरेलु सामानहरूको उपयोग गर्दै आफ्नो बच्चालाई बनावटी खेल खेल्न प्रोत्साहित गर्न र सहभागी हुन
  • उहाँलाई स्वयं स्याहार क्रियाकलापहरूमा आत्मनिर्भर हुन प्रोत्साहित गर्न
  • आफ्नो बच्चालाई अन्य बालबालिका र वयस्कहरूसँग खेल्ने अवसर उपलब्ध गराउन
  • विभिन्न विद्युतीय सञ्जालको साथ आफ्नो बच्चाको स्क्रिन समयलाई 1 घण्टा भन्दा बढी समय नलगाउन। उहाँलाई हेर्न र खेल्नको लागि उपयुक्त कार्यक्रमहरूको छनोट गर्न र मार्गनिर्देशन गर्न
तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू:
  • चियाको सेट, गुडियाको घर, कार र ग्यारेज, जनावरहरू आदि जस्ता लघु खेलौनाहरू
  • बिल्डिङ ब्लक, प्ले-डो, आदि जस्ता सिर्जनात्मक खेलौनाहरू
  • पेन्टिङ र चित्रकलाका सामग्रीहरू
  • रङ्गीन तस्वीर वा छोटो कथाका किताबहरू
  • सामान्य पजल र मेल खाने खेलौनाहरू
  • खेलौना पियानो, ड्रम आदि जस्ता सांगीतिक यन्त्रहरू

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा कुनै चरणमा आएर निश्चित क्षमता प्राप्त गर्न असफल हुनुहुन्छ भने धेरै नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गर्न सक्छ।

यो अवधिको अन्त्यसम्म, तपाईंको बच्चालाई निम्न अवस्था देखिएमा, चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्

  • बारम्बार लड्नुहुन्छ वा सिंढीहरूमा एक्लै हिँड्न सक्नुहुन्न
  • ठाडो वा तेर्सो रेखाहरू कोर्न सक्नुहुन्न
  • चम्चा, काँटा वा चपस्टिकहरूले खानुहुन्न
  • सामान्य निर्देशनहरू बुझ्न असफल हुनुहुन्छ, उदाहरणको लागि, “कोठामा जानुहोस् र कोट लिनुहोस्”
  • 2-3 शब्दको शब्दावलीहरूमा सञ्चार गर्न असफल हुनुहुन्छ (उदाहरणको लागि, “जुस पिउनुहोस्”, “बल चाहियो”)
  • अन्य बालबालिकामा कुनै चासो देखाउनुहुन्न
  • अभिनय गर्ने जस्ता खेलहरूमा सहभागी हुनुहुन्न
  • अधिकतम अवस्थाहरूमा स्याहारकर्ताबाट छुट्टिनुपरेमा अत्याधिक असहजता देखाउनुहुन्छ

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती अभिभावक, शिशु र प्रिस्कूल बालबालिकाका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि, हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।