के मेरो बच्चालाई कब्जियत छ?

(12/2019 मा संशोधन गरिएको विषयवस्तु)

के मेरो बच्चालाई कब्जियत छ?

कब्जियत बच्चा र साना बालबालिकामा सामान्य हो। तथापि, आमाको दूधमा पर्याप्त पानी हुने र पचाउन र सोस्न सजिलो हुने भएकाले 6 महिना भन्दा कम उमेरका, विशेषगरी आमाको दूध खाने बच्चाहरूमा कब्जियत हुनु कम सामान्य हुन्छ। बच्चाहरूलाई फर्मुला दूध खुवाउन थाल्दा वा लगभग 6 महिनाको भइसकेपछि ठोस खानेकुरा खुवाउन सुर गर्दा, उनीहरूको दिसा कडा हुने र कम दिसा गर्ने हुन सक्छ। तपाईंको बच्चालाई कब्जियत भएको भनी तपाईं चिन्तित हुन सक्नुहुन्छ। बालबालिकामा सामान्य दिसा-पिसाबको बानी फरक हुन्छ। नवजात शिशुहरूमा दिनमा धेरै पटक हुनेदेखि लिएर बालबालिकामा प्रत्येक 2 देखि 3 दिनमा एकपटकसम्म हुन्छ। त्यसकारण, बच्चालाई कब्जियत छ वा छैन भनी निर्धारण गर्नको लागि दिसा-पिसाबको बारम्बारता एकमात्र लक्षण होइन। दिसा नरम छ भने यसलाई सामान्य मानिन्छ।

कब्जियत के हो?

केही कारणहरूले गर्दा बच्चाले दिसा गर्नुहुन्न भने, दिसा उहाँको आन्द्रामा गएर जम्मा हुनेछ। समयसँगै, दिसा साह्रो र सुख्खा हुन्छ र यसले कब्जियत हुन्छ। कब्जियत भएका बालबालिकामा निम्न संकेतहरू देखिन सक्छ:

  • अनियमित वा असामान्य रूपमा ढिला दिसा आउने
  • सुख्खा र कडा ठूला वा साना दिसाका टुक्राहरू
  • दिसा गर्दा कठिनाइ वा पीडा हुने, दिसा रोकिने
  • वायु र दिसामा दुर्गन्ध, अत्याधिक रूपमा वायु निष्कासन हुने
  • दिसा गर्दा पातलो दिसा आउने
  • कहिलेकाहीँ पेट दुख्ने वा साह्रो हुने
  • कडा दिसाको कारणले मलद्वारको तन्तु च्यातिने
  • दिसामा रगत आउने
  • भोक नलाग्ने
  • ऊर्जाको कमी, चिडचिडाहट

शिशु र साना बालबालिकामा कब्जियतको सम्भावित कारणहरू:

नवजात/बाल्यवस्थाको निम्न संक्रमणकालीन अवधिहरूमा कब्जियत हुने बढी सम्भावनाहरू हुन्छन्:

  1. ठोस खाना सुरु गर्दा
    • खाने बानीमा परिवर्तन
    • असन्तुलित आहार, आहारीय रेसा वा तरल पदार्थ सेवनको कमी
  2. शौचालय प्रशिक्षण
    • दिसा गर्ने डरको कारण दिसा रोक्ने
    • दिसाको खराब बानी
    • शौचालयमा बस्ने गल आसन
  3. प्रिस्कूलको सुरुवात
    • अपरिचित शौचालयको वातावरण
    • दैनिक तालिकाहरूमा परिवर्तन
  4. अन्य सम्भावित कारणहरू:
    • ज्वरो, निर्जलीकरण, गतिहीनता
    • गुदाको नजिक छेद
    • व्यायामको कमी
    • गाईको दूधसँग एलर्जी
    • केही औषधिहरूको प्रभाव
    • अन्य रोगहरूसँग सम्बन्धित

बाल्यावस्थाको कब्जियतको व्यवस्थापन:

नवजात शिशुहरूको लागि:

  • आमाको दूधबाट फर्मुला दूधमा परिवर्तन गर्न वा एक फर्मुलाबाट अर्कोमा परिवर्तन गर्नेजस्ता दूधको सेवनको संरचनामा हुने परिवर्तनको कारणले बच्चाहरूमा संक्रमणकालीन कब्जियत हुनु सामान्य हो। दूध तयार गर्दा एकपटकमा विभिन्न फर्मुलाहरू मिसाउने गर्नुहुँदैन भन्ने कुरालाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ। तपाईंको बच्चाको लागि पर्याप्त पोषण र पानीको सेवन सुनिश्चित गर्नको लागि फर्मुला तयार गर्दा सधैँ उत्पादकको निर्देशनलाई पालना गर्नहोस्। आवश्यकता भएमा, तपाईंले खानाहरूको बीचमा बच्चालाई थोरै मात्रामा पानी दिन सक्नुहुन्छ।
  • तपाईंको बच्चा 6 महिना पुगेर ठोस खाना खान थालेपछि, कब्जियत रोक्न र कम गर्नको लागि पर्याप्त पानी र फलको प्युरी (उदाहरण स्याउ वा नासपाती) र काटिएको तरकारीहरू (उदाहरण ब्रोकाउली, साग) जस्ता उच्च मात्रामा आहारीय रेसा भएका खानाहरू दिनुहोस्।

एक वर्ष वा बढी उमेरको बालबालिकाका लागि, तपाईंले निम्न प्रयास गर्न सक्नुहुन्छ:

  1. स्वस्थ्यकर आहार तयार गर्ने
    1. पर्याप्त मात्रामा तरल पदार्थ सेवन गराउने
      • खानाहरूको बीचमा सफा पानी सबैभन्दा उत्कृष्ट रोजाइ हो।
      • बालबालिकाले पिउने तरलको कुनै निश्चित मात्रा छैन। प्राय: प्रत्येक खाना र प्रत्येक स्न्याकसँग कम्तीमा एकपटक पेय पदार्थ दिने
      • तपाईंको बच्चाले प्रत्येक 3 देखि 4 घण्टामा पिसाब गर्नुहुन्छ, पिसाबको रङ हलुका छ र कुनै कडा गन्ध छैन भने, उहाँले पर्याप्त मात्रामा पानी पिउँदै हुनुहुन्छ
      • बालबालिकालाई पानी पिउने बानी बसाउने अवसरहरूको सिर्जना गर्नुहोस्। उदाहरणको लागि, गर्मी मौसममा वा शारीरिक गतिविधिहरूपछि उहाँलाई पानी दिनुहोस्; उहाँको पहुँचमा साना कपहरूमा पानी राख्नुहोस्
      • खाना खाने समयमा, बच्चाको भोकमा कमी नहोस् भनी पानी मात्र वा हलुका नुनिलो सुप दिनुहोस्।
      • दही र सफ्ट पेय पदार्थ जस्ता चिनीयुक्त पेयपदार्थहरूले नियमित दिसा गर्ने बानीलाई प्रभाव पार्ने र मोटोपन बढाउने हुनाले यिनीहरूबाट टाढा रहनुहोस्। तपाईंले उहाँलाई ताजा जुस दिनुहुन्छ भने, दिनमा 120 ml भन्दा बढी नदिनुहोस्; उहाँलाई पुरै फलफूल दिन अझ राम्रो हुन्छ।
      • अत्याधिक दूधको सेवन नगराउनुहोस्। यसले आहारीय रेसाजस्ता ठोस खानाको अन्य पोषणहरूलाई खपत गर्न र सोस्नको लागि बच्चाको भोकमा कमी गराउनेछ। 1 वर्ष वा बढी उमेरका बालबालिकाका लागि, प्रत्येक दिन 360 देखि 480 ml भन्दा बढी दूध पिउनुहुँदैन। 2 वर्षको उमेरदेखि, बालबालिकालाई फ्याट भएको दूधबाट कम फ्याट भएको दूधमा परिवर्तन गर्न सिफारिस गरिन्छ र 5 वर्षको उमेरदेखि स्किम दूध पिउन सक्नुहुन्छ। 2 वर्ष वा बढी उमेरका बालबालिकाले मागको आधारमा स्तनपान जारी राख्न सक्नुहुन्छ।
    2. दिउँसो र रातीको खानाको अवधिमा सागसब्जी र फलफूलहरू उपलब्ध गराउने
      • फलफूल र सागसब्जीहरूमा आहारीय रेसा प्रचुर मात्रामा हुन्छ, उदाहरण गाजर, फर्सी, चोय सुम, सुन्तला, स्याउ र प्लम
      • केही पानी भएका फलफूल तथा सागसब्जीहरूद्वारा पानीको सेवनको परिपूर्ति गर्न सकिन्छ, उदाहरण कुभिन्डो, तरबुजा र नासपाती
    3. प्रत्येक खानाको साथमा सेरल वा स्टार्च-युक्त खानाहरू उपलब्ध गराउने
      • दुवै श्रेणीका खानाहरूमा आहारीय रेसा प्रचुर मात्रामा हुन्छन्
      • सेरलहरू, प्राथमिक रूपमा होल मिल वा ब्राउनमा रोटी, भात, पास्ता, चाउचाउ र ओट्स; सखरखण्ड र आलु जस्ता स्टार्चयुक्त खानाहरू पर्दछन्
    4. चिनी र फ्याटको मात्रा उच्च भएका खानाहरूदेखि टाढा रहनुहोस्।
      • उदाहरण: सफ्ट पेय पदार्थ, क्यान्डी, केक, तयारी चाउचाउ, फ्राई गरिएको खाना र डिजर्टहरू
      • यी खानाहरूमा नगण्य आहारीय रेसा समावेश हुन्छ। यिनीहरूले बालबालिकाको पेट भर्छन् र यसकारण अन्य पौष्टिक तत्त्वहरूको सेवन कम हुन्छ
    5. 3 नियमित खानाहरू र खानाहरूको बीचमा 2 नियोजित स्न्याकहरू लिने
      • सन्तुलित आहार र नियमित तालिका कायम राख्नुहोस्। तालिकाबाहिर गएर अतिरिक्त खाना नदिनुहोस्
  2. थप शारीरिक गतिविधिलाई प्रोत्साहित गर्ने

    आफ्नो बच्चालाई सक्रिय रहन प्रोत्साहित गर्नुहोस्। वरपर घुम्नेदेखि थप ऊर्जावान बल खेलहरू वा कुद्नेसम्म, शारीरिक गतिविधिहरूले पाचन प्रणालीलाई सक्रिय राख्न र मलत्यागलाई बढाउनमा मद्दत गर्छन्।

  3. व्यवहारात्मक व्यवस्थापन

    व्यवहारात्मक व्यवस्थापनलाई तपाईंको बच्चाको राम्रो खाना खाने बानी र गतिविधिको स्तरलाई प्रपत्साहित गर्न प्रयोग गर्न सकिन्छ। यो प्राय: माथिका रणनीतिहरू र आवश्यकता भएमा निर्देशित औषधिसँग प्रयोग गरिन्छ।

    • दैनिक पानीको सेवन, थप सक्रिय जीवनशैली र दिसा गर्ने तालिका जस्ता नियमित बानीहरू स्थापित गर्नको लागि स्पष्ट कदमहरू डिजाइन गर्न आफ्नो बच्चाको मद्दत गर्नुहोस् (पालन-पोषण श्रृंखला पुस्तिका ‘डायपरहरूलाई गुडबाइ भन्नुहोस्’ को सन्दर्भ लिनुहोस्)
    • तपाईंको बच्चालाई प्रोत्साहित गर्नको लागि उहाँले के राम्रो गर्नुहुन्छ बारे प्रत्यक्ष र सकारात्मक व्याख्याको प्रयोग गर्नुहोस्
    • तपाईंले 2 वर्ष वा सोभन्दा माथि उमेरका बालबालिकालाई नियमित दिसा गर्ने बानीलाई प्रोत्साहित गर्नको लागि सोही समयमा व्यवहारात्मक चित्रपटको प्रयोग गर्न सक्नुहुन्छ। सहज लक्ष्यबाट सुरु गर्नुहोस् (उदाहरण, प्रत्येक पटक दिसा गर्दा स्टिकर दिने)। विस्तारै कठिनाइमा वृद्धि गर्नुहोस्। निश्चित संख्यामा स्टिकरहरू प्राप्त गरिसकेपछि, खानाको सट्टा प्राथमिक रूपमा बच्चाको मनपर्ने गतिविधिको सन्दर्भमा एउटा पुरस्कार जित्न सकिन्छ (पालन-पोषण श्रृंखला पुस्तिका ‘तपाईंको प्रिस्कूलरको व्यवहारलाई व्यवस्थित गर्ने’ को सन्दर्भ लिनुहोस्)
    • वातावरणीय तत्त्वहरूको कारणले बच्चालाई कब्जियत भएको छ भने, तपाईंलाई कारणहरू पत्ता लगाउन र वातावरणमा समायोजन गर्न आवश्यक हुन्छ। उदाहरणको लागि, प्रिस्कूल शौचालयको सेटिङ र शौचालयको तालिका बुझ्नको लागि तपाईंले शिक्षकसँग कुरा गर्न आवश्यक हुन सक्छ। वा तपाईंले आफ्नो बच्चालाई थप अनुकूल समयमा दिसा गर्न प्रोत्साहित गर्न सक्नुहुन्छ
    • व्यवहारात्मक व्यवस्थापनको अवधिमा, तपाईंलाई धैर्य रहन, नजिकबाट अवलोकन गर्न र रेकर्ड गर्न आवश्यक हुन्छ। तपाईंको बच्चालाई दिसाको प्रक्रियामा रमाउन दिनको लागि उहाँको भावना बुझ्न र पूर्णरूपमा सबै कदमहरू बुझ्न दिनको लागि आफ्नो बच्चासँग कुरा गर्नुहोस्
  4. निर्देशित औषधि
    • प्रत्यक्ष कब्जियतमा कडा भएको दिसा पास गर्नमा मद्दतको लागि औषधिको आवश्यकता पर्छ। माथि उल्लेख गरिएका रणनीतिहरूसँग प्रयोग गरिएमा यो थप प्रभावकारी हुनेछ।

    आफ्नो चिकित्सकसँग परामर्श लिने:

    • बालबालिकाको कब्जियतको समस्यालाई प्राय: आहारमा परिवर्तन गरेर सुधार्न सकिन्छ। दिसा पातलो हुने वा दिसामा रगत आउने सज्ता समस्या भइरहेमा, बच्चालाई तुरून्तै चिकित्सककोकहाँ लैजानुहोस्।
    • बालबालिकाको प्रयोगका लागि काउन्टरबाट कहिल्यै पनि लेक्जेटिव वा सपोजिटरीहरू नकिन्नुहोस्। बालबालिकाको कब्जियतको उपचारको लागि औषधिहरू तपाईंको बाल चिकित्सक वा पारिवारिक चिकित्सकहरूद्वारा मात्र निर्देशित गरिनुपर्छ