गर्भपतन

(Content revised 02/2013)

गर्भपतन भनेको भर्खरै प्रारम्भ भएको गर्भावस्था अनपेक्षित रूपमा समाप्त हुने अवस्था हो । यो गर्भावस्था प्रारम्भ भएको अवस्थामा हुने एकदमै सामान्य जटिलता हो । केही महिलाहरूले आफू कहिल्यै गर्भवती भएका थिए भनेर ध्यान पनि नदिएका हुनसक्छन् ।

100 गर्भवती महिलाहरूमा बीस देखि पच्चीस जनाले भर्खरै प्रारम्भ भएको गर्भावस्थामा अलिकति योनी रक्तश्राव अनुभव गर्न सक्छन्। उनीहरू मध्ये केहीलाई गर्भपतनको रूपमा निदान गरिन्छ तर बाँकीले आफ्नो गर्भावस्था पूरा गर्नेछन् ।

चिन्ता नगर्नुहोस्, भर्खरै प्रारम्भ भएको गर्भावस्थामा योनीको रक्तश्रावको इतिहास वा जसलाई हामीले सम्भावित गर्भपतन भन्छौं, त्यसले भ्रूणको वृद्धि तथा विकासलाई प्रभावित गर्दैन र जन्मजात असामान्यताहरूको सम्भावनालाई बढाउँदैन ।

कुनै महिलाले आफ्नो गर्भपतन भएको भनेर कसरी थाहा पाउन सक्छिन् ?

  • अधिकांश गर्भपतन गर्भावस्थाको 6 देखि 12 हप्ताको बीचमा वा त्यस भन्दा अगाडि हुन्छ ।
  • केही महिलाहरूले योनीबाट केही रक्तश्राव भएको अनुभव गर्न सक्छन् र पेटमा केही दुखाइ पनि हुन सक्छ ।
  • अन्य महिलाहरूमा, गर्भाशयको तत्त्व स्वाभाविक रूपमा बाहिर निस्कन सक्छ; उनीहरूले बढी रक्तश्राव तथा दुखाइ अनुभव गर्न सक्छन् ।
  • यस्ता केही महिलाहरू पनि हुन्छन् जसले कुनै पनि लक्षण देखाउँदैनन् र यो अवस्था जाँचको दौरान मात्र पत्ता लाग्छ ।

यो सामान्य हुन्छ ? यो किन हुन्छ ?

गर्भपतन एकदमै सामान्य अवस्था हो।

  • धेरैजसो गर्भपतन भ्रूण असामान्य हुँदा वा गर्भाशयको वातावरण भ्रूणको वृद्धिको लागि प्रतिकूल हुँदा हुन्छ ।
  • केही जडीबुटी वा औषधिहरूले गर्भावस्थालाई प्रभावित गर्न सक्छ तर गर्भपतनको प्रत्यक्ष कारण यी औषधिहरू नै हुन् वा हैनन् भनेर भन्न कठिन हुन्छ किनभने यो एकदमै सामान्य घटना हो । एकपटक महिलाले आफू गर्भवती भएको भनेर थाहा पाएपछि अनावश्यक औषधि वा जडीबुटीहरू नखानु महत्त्वपूर्ण हुन्छ ।
  • पौडी खेल्ने, नृत्य गर्ने, जिम्नेसियममा व्यायाम गर्ने वा योगाभ्यास गर्ने जस्ता शारीरिक क्रियाकलापहरूको कारणले गर्भपतन हुँदैन ।
  • ब्याक्टेरियाद्वारा खाना दूषित नहुँदासम्म विशिष्ट खाना खाँदा महिलाहरूमा विरलै गर्भपतन हुन्छ ।
  • कामोत्तेजक क्रिडा तथा सम्भोग जस्ता सामान्य यौन क्रियाकलापहरू हानिकारक हुँदैनन् र तिनीहरूले गर्भपतनको सम्भावनालाई बढाउँदैन ।

पुनरावर्तक गर्भपतन

सामान्य रूपमा भन्नुपर्दा, महिलाको एकपटक गर्भपतन हुँदैमा त्यसैले नै अर्को पटक पनि गर्भपतन हुन्छ भन्ने हुँदैन ।

  • पुनरावर्तक गर्भपतन भनेको लगातार तीन वा तीन भन्दा बढी पटक गर्भपतन हुनु हो ।
  • लगभग 100 जना महिलाहरू मध्ये 1 जना महिलामा पुनरावर्तक गर्भपतनको समस्या हुन्छ ।
  • यी महिलाहरू मध्ये केहीमा पुनरावर्तक गर्भपतन गराउने मूल कारकतत्व रहिरहन्छ ।
  • यो मध्ये केही कारणहरूको उपचार गर्न सकिन्छ । कृपया विस्तृत जानकारीको लागि आफ्नो प्रसूति विशेषज्ञसँग परामर्श गर्नुहोस् ।

(यो सूचना स्वास्थ्य विभाग तथा अस्पताल प्राधिकरणद्वारा तयार गरिएको हो)