प्रसवपूर्व निदान बारेमा तपाईंलाई के थाहा छ ?

(Content revised 02/2013)

प्रसवपूर्व स्क्रिनिंग परीक्षणले गम्भीर जन्मजात अवस्था भएका शिशु जन्माउने तपाईंको जोखिम (वा सम्भावना) लाई लेखाजोखा गर्न सक्छ र छिटो व्यवस्थापनलाई सक्षम बनाउन सक्छ । यसका अतिरिक्त, अस्पताल प्राधिकरणले गर्भावस्थाको गर्भ अनुसार डाउन सिन्ड्रोमको लागि प्रसवपूर्व स्क्रिनिंग प्रस्ताव गर्छ ।

प्रसवपूर्व निदान भनेको के हो?

प्रसवपूर्व निदानले भ्रूणको गम्भीर रोगहरूलाई पत्ता लगाउने र तिनीहरूको उचित व्यवस्थापनको प्रबन्ध मिलाउने लक्ष्य राखेको छ ।

व्यवस्थापन विकल्पहरूमा निम्न समावेश हुन सक्छन्:

  • गर्भाशय भित्रै भ्रूणको प्रत्यक्ष उपचार
  • जन्म पश्चात अनुकूलतम व्यस्थापनको लागि तैयारी
  • गर्भावस्थाको अन्त

प्रसवपूर्व निदानमा मुख्य जन्मजात असामान्यता वा वंशानुगत अवस्थाहरू भएका शिशुहरू जन्माउने उच्च जोखिममा रहेका गर्भवती महिलाहरूको परीक्षण गर्नु रहेको हुन्छ । तिनीहरूमा निम्न पर्दछन्:

  • जन्मजात मुटु रोग, मेरूदण्डको दोष वा जन्मदा अन्य घाउहरू भएका असामान्य शिशुहरूलाई जन्म दिएका महिलाहरू ।
  • हेमोफिलिया जस्ता आनुवंशिक रोगहरूको पारिवारिक इतिहास भएका महिलाहरू ।
  • दम्पती जसमा दुवैजना थेलासीमियाका वाहक रहेका छन् ।
  • प्रसूति विशेषज्ञद्वारा चिकित्सकीय लेखाजोखाको आधारमा जोखिममा रहेको भनेर मानिएका महिलाहरू ।​

प्रसवपूर्व निदान परीक्षणहरूका आफ्ना सीमाहरू छन् र हालको चिकित्सकीय प्रविधिको माध्यमद्वारा सबै असामान्यता तथा रोगहरू पत्ता लगाउन सकिन्न ।

प्रसवपूर्व निदान बारेमा तपाईंलाई के थाहा छ?

प्रयोग भएको विधि ध्यानमा राखिएको असामान्यताहरूको प्रकारसँग सम्बन्धित हुन्छ । परीक्षणहरू मुख्य दुई प्रकारका हुन्छन्: (क) गुणसूत्रीय तथा अन्य लेखाजोखाहरूको लागि भ्रूणको कोष वा भ्रूण सम्बन्धी कोषहरू प्राप्त गर्न इन्वेसिव (आक्रामक) परीक्षण (ख) संरचनात्मक असामान्यताहरू पत्ता लगाउन प्रतिबिम्ब बनाउने ।

(क) इन्वेसिव परीक्षण

गुणसूत्रीय असामान्यताहरूको लागि, विभिन्न भ्रूणको आयुमा भ्रूणबाट प्राप्त कोषको नमूनाहरूको निम्न विधिहरू मध्ये एकबाट प्रत्यक्ष कल्चर गरिन्छ: कोरिओनिक भिलस स्याम्पलिंग, एमनियोसेन्टेसिस वा कोर्ड़ोसेन्टेसिस ।

कोरिओनिक भिलस स्याम्पलिंग-

यसलाई गर्भको 10 देखि 13 हप्ताको बीचमा गरिन्छ । सालको तन्तुको नमूना लिइन्छ र गुणसूत्रीय लेखाजोखाको नतिजा साधारणयता 2-3 हप्तामा उपलब्ध हुन्छ ।

एमनियोसेन्टेसिस-

यसलाई सामान्यतया गर्भको 16 देखि 20 हप्ताको बीचमा गरिन्छ । भ्रूणलाई घेर्ने तरल पदार्थको नमूना लिइन्छ । गुणसूत्रीय लेखाजोखाको नतिजा साधारणयता 3 हप्ता भित्रमा उपलब्ध हुन्छ ।

कोर्ड़ोसेन्टेसिस-

यसलाई सामान्यतया गर्भको 20 हप्ता पछि गरिन्छ । गर्भनालबाट भ्रूणको रगतको नमूना लिइन्छ । गुणसूत्रीय लेखाजोखाको नतिजा साधारणयता 5-7 दिनमा उपलब्ध हुन्छ । यो परीक्षण विशेषगरी अत्यन्तै जरूरी नतिजा चाहिएको बेलामा उपयोगी हुनेछ ।

यी परीक्षणहरू कसरी गरिन्छ ?

यी सबै प्रक्रियाहरू अल्ट्रासाउण्डको निर्देशनमा गरिन्छ । गर्भाशय भित्रबाट तन्तुको नमूना प्राप्त गर्दा एउटा लामो सुइँ प्रयोग गरिन्छ र त्यसपछि प्राप्त नमूनालाई प्रयोगशालामा कल्चर गरिन्छ । त्यसपछि गुणसूत्रीय असामान्यताहरू तथा केही आनुवंशिक वा थेलासीमिया मेजर जस्ता वंशानुगत अवस्थाहरूलाई रोग निदान गर्न वा हटाउन सकिन्छ ।

यो नतिजा विश्वसनीय हुन्छ ?

माथिका विधिहरू प्रयोग गरेर गरिएको गुणसूत्रीय लेखाजोखा एकदमै सही हुन्छ । यद्यपि, विशेषज्ञद्वारा गरिने विशेषज्ञीय व्याख्या अनिवार्य हुन्छ किनभने केही गुणसूत्रीय असामान्यताहरू सामान्य परिवर्तनहरू मात्र हुन्छन् र तिनीहरूले भ्रूणको त्रुटिपूर्ण शारीरिक वा मानसिक वृद्धिको नतिजा ल्याउँदैनन् ।

यी परीक्षणहरूले भ्रूणलाई कुनै हानि गर्छ ?

केही इन्वेसिव परीक्षणहरू विशेषज्ञ चिकित्सकको रेखदेखमा लगभग 0.5 देखि 1.5% को गर्भपतनको निश्चित तर सानो जोखिमसँग जोडिएको हुन्छ, अर्थात् इन्वेसिव परीक्षण गराउने 200 महिलाहरू मध्ये 1-3 महिलाको गर्भपतन हुन्छ ।

यदि नतिजा सामान्य भएमा के यसको अर्थ भ्रूण पनि सामान्य छ ?

  • चिकित्सकीय प्रविधिको आफ्नो सीमाहरूको कारणले गर्दा यी विधिहरूबाट सबै आनुवंशिक वा वंशानुगत रोगहरू पत्ता लगाउन सकिँदैन ।
  • गुणसूत्रीय असामान्यताहरूसँग सम्बन्धित नरहेका संरचनात्मक वा कार्यात्मक दोषहरू पत्ता लगाउन सकिँदैन ।

(ख) अल्ट्रासाउण्ड जाँच

  • भ्रूणमा प्रमुख संरचनात्मक असामान्यताहरू पत्ता लगाउने सबैभन्दा उपयोगी परीक्षण अल्ट्रासाउण्ड जाँच हो ।
  • 18 देखि 22 हप्ताको गर्भमा गरिने अल्ट्रासाउण्ड जाँचद्वारा प्रमुख संरचनात्मक असामान्यताहरू पत्ता लगाउने दर लगभग 30-70% हुन्छ ।
  • विभिन्न असामान्यताहरू वा सम्बन्धित अङ्ग प्रणालीहरू, अल्ट्रासाउण्ड गर्ने चिकित्सकको अनुभवका साथसाथै अल्ट्रासाउण्ड मेसिनको रेजुलेसनले पत्ता लगाउने दरलाई प्रभावित गर्छ ।
  • यदि अल्ट्रासाउण्ड जाँचमा पत्ता लागेका असामान्यताहरूले गुणसूत्रीय दोषहरूलाई सङ्केत गरेमा माथि उल्लेख गरिए झैं थप इन्वेसिव परीक्षण तोकिन सकिन्छ ।

यदि अल्ट्रासाउण्ड जाँच सामान्य भएमा के यसको अर्थ भ्रूण पनि सामान्य छ ?

  • सामान्य अल्ट्रासाउण्ड जाँचले भ्रूणमा प्रमुख संरचनात्मक दोषहरूको सम्भावना कम हुने सङ्केत गरेतापनि यसले ती दोषहरूको सबै सम्भावनाहरूलाई हटाउन सक्दैन ।
  • अल्ट्रासाउण्डले केही गुणसूत्रीय असामान्यताहरूलाई सजिलैसँग पत्ता नलगाउन सक्छ, त्यसैले सामान्य अल्ट्रासाउण्ड जाँचले यी रोगहरूलाई हटाउन सक्दैन ।

यी प्रसवपूर्व निदान परीक्षणहरू कसरी र कहाँ गराउने ?

यदि गर्भवती महिलाहरूलाई आफ्नो भ्रूण असामान्य हुनसक्ने भनेर साँच्चीकै चिन्ता भएमा सबै गर्भवती महिलाहरूलाई आ-आफ्नो चिकित्सकहरूसँग छलफल गर्न प्रोत्साहित गरिन्छ ।

प्रसवपूर्व निदान तथा परामर्श सेवा अस्पताल प्राधिकरण अन्तर्गतका सबै मुख्य प्रसूति एकाइहरूमा उपलब्ध छन् । . प्रसवपूर्व निदान तथा परामर्श सेवा अनुरोध गर्ने दम्पतीहरू आफ्नो जिल्लामा प्रसूति सेवा भएको अस्पताल प्राधिकरण कहाँ जानुपर्छ वा उनीहरूलाई उनीहरूकै चिकित्सक, मातृ तथा बाल स्याहार केन्द्र वा अन्य निजी क्लिनिकहरूद्वारा यी क्लिनिकहरू मध्ये एकमा रिफर गरिनेछ ।

(यो सूचना स्वास्थ्य विभाग तथा अस्पताल प्राधिकरणद्वारा तयार गरिएको हो)