बच्चाको चाल

(Content revised 07/2017)

सामान्यतया, गर्भवती महिलाले 18 हप्ता देखि 24 हप्ता बीचको समय देखि गर्भमा रहेका आफ्नो बच्चाको चाल महसुस गर्न सक्छिन् । पहिला पनि जन्म दिएकि महिलाले यस्तो चाललाई अझ अगाडि नै महसुस गर्न सक्छिन् । गर्भमा बच्चा बढ्दै जाँदा चालहरू अझ बढी स्पष्ट तथा नियमित हुन्छन् ।

गर्भवती महिलाले आफ्नो गर्भको बच्चाको हातको बूढी औंला चुस्ने वा हात तथा खुट्टाका औंलाहरू तन्काउने जस्ता साना चालहरूलाई महसुस गर्न सक्दिनन् । गर्भावस्थाको अन्तिम त्रैमासिक (28 हप्ता पश्चात) को दौरान उनले लात्ताले हानेको, घुम्ने चाल तथा सम्भवतः बाडुली (छोटो तालबद्ध झट्का) महसुस गर्नेछिन् । यी सबै चालहरू गर्भावस्थाका अन्तिम महिनाहरूमा सबैभन्दा बढी स्पष्ट हुन्छन् र उनी प्रसवमा जाने बेलासम्म महसुस भएको हुनुपर्छ । केही महिलाहरूको गर्भमा रहेको बच्चाहरू राम्ररी हुर्कदै गरेपनि उनीहरूले अन्य महिलाहरूले जस्तै वा जति आफ्नो बच्चाहरूले चाल गरेको महसुस गर्न सक्दैनन् ।

गर्भवती महिलाहरूले बच्चाको लातको सङ्ख्यालाई गणना गरेर राख्नुपर्छ?

हरेक दिन बच्चाको चालको बारेमा जानकार रहनु एकदमै राम्रो बानी हो । यद्यपि, बच्चाको चाललाई नियमित रूपमा लिखित अभिलेख राख्नु आवश्यक छैन । जन्म भन्दा अगाडि गर्भमा रहेको बच्चाहरूको पनि नवजात बच्चा झैं समान निदाउने तथा ब्युँझिने चक्रहरू हुन्छ । सबै स्वस्थ बच्चाहरू छोटो समयावधिको लागि चुप रहन्छन् वा सुत्ने गर्छन् जो सामान्यतया 90 मिनेट भन्दा कम समयसम्म रहन्छ । तपाईंले पल्टिएर वा बसेर आराम गर्दा चालहरूलाई सबैभन्दा राम्रोसँग महसुस गर्न सक्नुहुन्छ । तपाईं उभिएको, हिड्दा वा तपाईं अन्य कुराहरूमा व्यस्त हुँदा तपाईंले बच्चाको चालहरूलाई सबैभन्दा कम महसुस गर्नुहुनेछ ।

जान्नुपर्ने बुँदाहरू

यदि तपाईंले गर्भाधारणको 24 हप्तासम्म बच्चाको चाललाई महसुस नगरेमा तपाईंले स्वास्थ्य पेशाकर्मीसँग परामर्श गर्नुपर्छ । यसका अतिरिक्त, गर्भावस्थाको दौरानमा यदि तपाईंले आफ्नो बच्चाको चालको नियमित दैनिक क्रियाकलापमा कमी भएको महसुस गर्नुभएमा तपाईंले शान्त ठाउँ खोजी, कोल्टे परेर सुत्नुहोस् र आफ्नो बच्चाको चालहरूमा ध्यान केन्द्रित गर्नुपर्छ । यदि तपाईंले दुई घण्टामा बच्चाको 10 वटा चाल भन्दा कम महसुस गरेमा तपाईंले थप लेखाजोखाको लागि तुरून्तै आफ्नो चिकित्सक वा प्रसूति गराउने अस्पतालमा सम्पर्क गर्नुहोस् ।