बाल विकास 3 – एकदेखि तीन महिना

(12/2019 मा संसोधन गरिएको विषयवस्तु)

दोस्रो महिनामा प्रवेश गर्दा, तपाईंले सम्भवत: आफ्नो बच्चामा पहिलो महिनाको तुलनामा भिन्नता देख्नुहुनेछ। उहाँले अब सुताईमा कम समय बिताउनुहुन्छ र आफ्नो वरिपरिको वातावरणमा बढी चासो देखाउनुहुन्छ। उहाँले आवाजहरू र मानिसहरूले कुरा गरिरहेको सुन्नुहुनेछ। तपाईं उहाँसँग खेल्दा, उहाँले तपाईंलाई हेरेर तपाईंको मुस्कान फर्काउनुहुनेछ। उहाँको चाल सरल, थप उद्देश्यपूर्ण र संयोजित हुनेछ।

तेस्रो महिनाको अन्त्यसम्म, तपाईंको बच्चा निम्न कार्यमा सक्षम हुनुहुनेछ:

चाल

  • सहज र अझ राम्रोसँग नियन्त्रित शरीरको चालमा सर्न
  • खुट्टाहरू तन्काएर बल लगाएर लात हान्न
  • घोप्टो परेर पल्टिदा टाउको र छाती उठाउन र दुवै पाखुराहरूले आफ्नो शरीरलाई धान्न
  • बसिरहेको स्थितिमा टाउको निरन्तर रूपमा उठाउन
  • अधिकांश समयमा हातहरू खुला राख्न
  • आफ्नो हत्केलामा राखिएको खेलौना समात्न
  • आफ्नो हातलाई मुखसम्म ल्याएर चुस्न
  • दुवै हातहरू एकसाथ जोडेर औंलाहरूसँग खेल्न
  • आफ्नो शरीर वा पाखुहरूले झुण्डिरहेका वस्तुहरूलाई हिर्काउने प्रयास गर्न

दृष्टि

  • आफ्ना आँखाहरूले वरिपरिको वातावरण अन्वेषण गर्न
  • मानिसका अनुहारहरू, विशेषगरी आमाबुवाको अनुहारमा टोलाएर हेर्न
  • परिचित मानिसहरूलाई टाढाबाट पहिचान गर्ने र आँखाले पछ्याउने (कैयौं फिट वा 1 देखि 2 मिटर टाढा)
  • चलिरहेको वस्तुहरूलाई पछ्याउन आफ्नो टाउको सारेर आँखालाई घुमाउन
  • आफ्ना हातहरू हेर्न र तिनीहरूसँग खेल्न

श्रवण र बोली

  • आफ्नो टाउकोलाई आवाज जस्तै, आमाको आवाजको दिशातर्फ घुमाउन
  • संगीत सुन्न
  • परिचित आवाजहरू, विशेषगरी, आमाको आवाज सुनेर मुस्कुराउन
  • केही आवाजहरूको नक्कल गर्न थाल्ने
  • विभिन्न आवाजहरू निकाल्न थाल्ने उदाहरणको लागि, "आह", "ओह"

सामाजिक सञ्चार

  • सञ्चारको माध्यमको रूपमा सामाजिक मुस्कानको प्रयोग गर्न, विशेषगरी परिचित व्यक्तिहरूको साथ
  • आफूतर्फ निर्देशित वयस्कको अनुहारको अभिव्यक्तिहरूको नक्कल गर्न
  • रुने, कराउने, विभिन्न अनुहारको अभिव्यक्ति र शरीरको गतिविधिहरूद्वारा आफ्ना भावना र आवश्यकताहरूलाई सञ्चार गर्न
  • खेल्दा खेरि उल्लास हुन र खेल रोक्किदाखेरि रुन सक्नुहुन्छ

बच्चाको विकासलाई सहज बनाउने

यस चरणमा आएर उहाँलाई सुरक्षित महसुस गर्नको लागि बारम्बार आश्वासनको आवश्यकता पर्छ। उहाँलाई यो सुरक्षाको भावना स्थापित गर्न मद्दत गरेर, उहाँले विस्तारै आत्मविश्वास र भरोसाको विकास गर्नुहुनेछ जसले उहाँलाई तपाईंबाट छुट्टिन र भविष्यमा स्वतन्त्र र आत्मविश्वासी व्यक्ति बन्न अनुमति दिन्छ।

तपाईं के गर्न सक्नुहुन्छ:
  • उहाँका आवश्यकताहरूमा प्रतिक्रिया जनाउन
  • उहाँलाई अंगालो हाल्न र समात्न
  • उहाँसँग कुराकानी गर्न र गीत गाउन
  • उहाँलाई दृश्यात्मक रूपमा बिस्तरामा पल्टिने बाहेक विभिन्न आसनहरूबाट वातावरण र खेलौनाहरू अन्वेषण गर्न दिन। उहाँलाई घोप्टो पारेर सुताउनाले (वयस्कको निरीक्षण अन्तर्गत) उहाँका घाँटीका मांसपेशीहरूलाई सबल बनाउन मद्दत गर्छ। उहाँले आफ्नो टाउकोलाई राम्रोसँग धान्न सक्दा, उहाँलाई तपाईं हिँड्दा विरिपरि हेर्न मिल्ने तरिकाले बाहिरतिर देखाउँदै बोक्नुहोस्।
तपाईंले छनोट गर्नसक्ने खेलौनाहरू:
  • बच्चाले समाउन मिल्ने खेलौनाहरू
  • चम्किलो रङ्ग भएका मोबाइलहरू
  • बच्चाले हेर्न र पहुँच गर्न प्रयास गर्न मिल्नेगरी कोक्रोको छेउछेउमा जोडिएका खलौना वा नफुट्ने ऐना
  • संगीत बाकस वा कम्प्याक्ट डिस्कबाट मधुरो संगीत

माथिको जानकारीले तपाईंलाई आफ्नो बच्चा बढ्दै गर्दा अपेक्षित गर्न सकिने परिवर्तनहरूको सामान्य उपाय मात्र दिन्छ। हरेक बच्चा अद्वितिय हुन्छन् र विकासको गतिमा हुने व्यापक भिन्नताहरू प्राय: सामान्य हुन्छन्। तपाईंको बच्चाले केही फरक समय लिनुहुन्छ वा केही चरणमा आएर निश्चित क्षमता प्राप्त गर्न असफल हुनुहुन्छ भने धेरै नआत्तिनुहोस्। यसले थप ध्यानाकर्षणको आवश्यकतातर्फ मात्र संकेत गरेको हुनसक्छ।

यस अवधिको अन्त्यसम्म, तपाईंको बच्चालाई निम्न अवस्था देखिएमा, चिकित्सक वा नर्सहरूसँग छलफल गर्नुहोस्

  • निष्कर्य वा समाउँदा अति भारी देखिने
  • घोप्टो परेर पल्टिदा त्यति नचल्ने र आफ्नो टाउकोलाई अस्थायी रूपमा नधान्ने
  • सबै समय आफ्नो हात मुठ्ठी पारेर राख्ने र उहाँको हातमा राख्दिएको खेलौना नसमात्ने
  • आफ्नै हातहरू नहेर्ने
  • नजिकै चलिरहेका वस्तुहरूलाई आफ्ना आँखाहरूले नपछ्याउने
  • ठूलो आवाजमा प्रतिक्रिया नजनाउने
  • कुनै पनि आवाज ननिकाल्ने
  • तपाईंको आवाज वा अनुहारको प्रतिक्रियामा नमुस्कुराउने

तपाईंसँग कुनै पनि चिन्ता वा जिज्ञासा छ भने, कुनै पनि मातृ तथा शिशु स्वास्थ्य केन्द्रहरू (MCHC) का नर्स र चिकित्सकहरू वा आफ्नो पारिवारिक चिकित्सक/बाल विशेषज्ञसँग छलफल गर्नुहोस्।

हामीसँग गर्भवती आमाबुवा, शिशु र प्रिस्कूल बालबालिकाका आमाबुवाहरूका लागि "सुखद पालन-पोषण!" कार्यशालाहरूका श्रृंखला र पुस्तिकाहरू छन्। कृपया जानकारीको लागि हाम्रो स्वास्थ्य स्याहार कर्मचारीलाई सम्पर्क गर्नुहोस्।