नवजातको अकस्मात मृत्यु लक्षणबाट शिशुको सुरक्षा (SIDS)
नवजातको अकस्मात मृत्युको लक्षण भनेको के हो र हङ्गकङ्मा यो कति सामान्य छ?
- नवजातको अकस्मात मृत्युको लक्षण (Sudden Infant Death Syndrome, SIDS) वा ओछ्यानमा मृत्यु भनेको जन्मको पहिलो वर्षमा हुने शिशुको अकस्मात, अनपेक्षित तथा वर्णन गर्न नसकिने मृत्यु हो जो सामान्यतः निद्रामा तथा अन्जान कारणले हुन्छ ।
- SIDS ले शिशुहरूलाई पहिलो 6 महिनामा सबैभन्दा बढी प्रभावित पार्दछ जो दोस्रो देखि तेस्रो महिनाको उमेरमा उच्च हुन्छ ।
- SIDS हङ्कङ् सामान्य छैन (प्रत्येक 10,000 शिशुमा एकदेखि तीनवटा शिशुलाई प्रभावित गर्छ)
- कुन शिशुको SIDS ले गर्दा मृत्यु हुन्छ भनेर विशेषज्ञहरूले अनुमान लगाउन सक्दैनन् ।
SIDS को जोखिमलाई कम गर्न रोकथामका उपयुक्त उपायहरू अपनाउनुहोस् ।
SIDS को जोखिमलाई मैले कसरी कम गर्न सक्छु ?
उत्तानो पारेर सुताउने
- आफ्नो बच्चालाई जहिले पनि उत्तानो पारेर सुताउनुहोस्
- यो घोप्टो परेर सुत्ने भन्दा छ गुणा तथा कोल्टे परेर सुत्ने भन्दा दुई गुणा सुरक्षित हुन्छ ।
उत्तानो पारेर सुताउँदा यसले तपाईंको शिशुलाई निम्न फाइदाहरू दिन्छ:
- SIDS बाट सर्वोत्तम संरक्षण
- सजिलोसँग श्वासप्रश्वास गर्न सबैभन्दा राम्रो तरिका
- धेरै तातिंदा सेलाउने सबैभन्दा राम्रो अवसर
- पल्टिएर घोप्टो पर्न वा तन्नामुनि पस्नबाट जोगिने उत्कृष्ट स्थिति
धुम्रपान नगर्ने
- धुम्रपान रहित वातावरण कायम राख्नुहोस्
- यदि गर्भावस्थाको दौरान आमाले धुम्रपान गरेमा SIDS को जोखिम बढ्छ ।
- शिशुहरू अप्रत्यक्ष धुम्रपानको सम्पर्कमा आउँदा SIDS को जोखिम पनि बढ्न सक्ने भनेर सङ्केत गर्ने केही प्रमाणहरू रहेका छन् ।
सुरक्षित शयन वातावरण
- शिशुलाई ठोस निदाउने सतहमा सुताउनुहोस् । तन्नक तथा राम्रोसँग सिलाइएको म्याट्रेस प्रयोग गर्नुहोस् । शिशुलाई कहिले पनि सिरक, सिरानी, शिपस्किन वा बिन ब्याग इत्यादीमा कहिलेपनि नसुताउनुहोस् ।
- तपाईंको शिशु सुतिरहेको ठाउँमा वस्तुहरू राख्न तथा खुकुलो गद्दीको प्रयोगबाट बच्नुहोस्, जस्तै: सिरानी, भुवाको ब्लान्केट वा डुवेट, सिरानी जस्तो बम्पर, भरिएका खेलौना इत्यादी ।
- निदाएको समयमा आफ्नो शिशुको अनुहार छोपिएको छैन भनेर सुनिश्चित गर्नुहोस् । त्यसैले आफ्नो शिशुलाई ब्लान्केटले ओढ्याउँदै गर्दा उनको पाखुराहरूलाई नढाक्नुहोस् । श्वासप्रश्वास तथा शरीरलाई ठण्डा राख्नको लागि शिशुको अनुहार तथा टाउको महत्त्वपूर्ण हुन्छन् ।
- आफ्नो शिशुलाई धेरै तात्तिन नदिनुहोस् । शिशुलाई धेरै कपडा नलगाइदिनुहोस् वा ओढ्ने ओढाएर धेरै तातो नगराउनुहोस् । हल्का कपडा लगाएको शिशुलाई आरामदायक तापक्रमको लागि कोठालाई हावादार राख्न सम्झिनुहोस् ।
- तपाईंको शिशु तपाईंसँग एउटै कोठामा सुत्नुपर्छ । आफ्नो शिशुलाई आफ्नो कोठामा आफ्नो ओछ्यानको नजिक शिशु ओछ्यानमा राख्नुहोस् । यदि तपाईंको बेडरूममा शिशु ओछ्यान राख्ने सम्भावना छैन भने उनलाई तपाईंबाट टाढा राख्नको लागि तपाईंले उनलाई आफ्नो ओछ्यान माथि कोक्रोमा राख्न सक्नुहुन्छ । शिशुको आफ्नै ब्लान्केट हुनुपर्छ र निसासिनबाट रोक्नको लागि तपाईंको बिछ्यौनाले उनको टाउको तथा अनुहार छेकेको छैन भनेर सुनिश्चित गर्नुहोस् ।
खोपकरण
- आफ्नो शिशुलाई सबै खोपहरू लगाउनुहोस्
- हालका प्रमाणले खोप लगाउनाले SIDS को जोखिम घटाउन सक्ने देखाएको छ ।
स्तनपान
- स्तनपानको SIDS विरूद्ध एक सुरक्षात्मक प्रभाव पार्ने सम्भावना रहन्छ । हामी स्तनपानलाई जोडका साथ प्रोत्साहित गर्छौं जसले शिशु तथा आमा दुवैलाई अन्य कैयौं स्वास्थ्य लाभहरू दिन्छ ।
मैले आफ्नो शिशुसित सँगै सुत्नुपर्छ ?
केही आमाबुवाहरू आफ्नो शिशुसँग विभिन्न कारणहरूले गर्दा सुत्न मन पराउँछन्, उदाहरणको लागि, स्तनपान गराउनको लागि यो सहज हुन सक्छ। यद्यपि, सुरक्षा चिन्ताहरूको कारण, हामी शिशु आफ्नै बिस्तारामा सुत्नु पर्छ भनेर सिफारिस गर्छौं।
शोधले शिशुसित सँगै ओछ्यानमा सुत्दा निम्न परिस्थितिहरू उनीहरूका लागि असुरक्षित हुन सक्छ भनेर देखाएको छ:
- गर्भावस्थाको दौरान आमाले धुम्रपान गर्छिन् वा शिशुको जन्म पछि आमा वा बुवा मध्ये कुनै एकले धुम्रपान गर्नुहुन्छ ।
- ओछ्यानमा नरम म्याट्रेस, खुकुलो तन्ना वा ठूला नरम सिरानीहरूको प्रयोग गर्दा । यिनीहरूले शिशुको अनुहार वा टाउकोलाई छोप्न सक्छन्, अझ विशेषगरी शिशु पल्टिएर घोप्टो परेको बेला ।
- जब आमाबुवाको सजगता निम्न अवस्थामा कम हुन्छ:
- रक्सी खाएपछि;
- लागूऔषध सेवन गरेपछि;
- धेरै थकाई लाग्दा वा बिरामी पर्दा ।
- शिशु आमाबुवा बाहेक अन्यसित सुत्छ (जस्तै, अन्य बच्चा वा वयस्क) ।
- शिशुसँगै सोफामा सुत्दा ।
स्तनपानलाई सहज गराउन म मेरो शिशुलाई मेरो बेडरूममा सँगै सुताउन चाहेमा मैले के-के कुराहरूलाई ध्यानमा राख्नुपर्छ?
केही आमाहरूले बारम्बार स्तनपान गराउन जरूरी हुनसक्छ; सबैभन्दा उत्तम तरिका भनेको शिशुको ओछ्यान आफ्नो ओछ्यानको ठीक छेउमा राख्ने हो । यसरी, शिशुले चाहेको बेलामा बसेर वा बिस्तारामा पल्टिएर तपाईंले आफ्नो शिशुलाई स्तनपान गराउन सक्नुहुन्छ । स्तनपान पछि शिशु सन्तुष्ट भएपश्चात उनलाई उनकै ओछ्यानमा राख्नुहोस् । यसो गर्दा, यो सहज मात्र नभएर निम्न लाभहरू पनि हुन्छ:
- तपाईंले शिशुका आवश्यताहरूलाई सजिलै ध्यान पुर्याउनका साथै जवाफ दिन सक्नुहुन्छ ।
- शिशु तपाईंसँगै सुत्दा तपाईं राम्रो सँग सुत्न सक्नुहुन्छ र तपाईंले शिशुको सुरक्षा बारेमा चिन्ता गरिरहन जरूरी हुन्न ।
- शिशुसँग एउटै बिस्तारा साझा गर्न बचेर यसले SIDS को जोखिमलाई घटाउन सक्छ ।
यसले शिशुलाई निदाउनको लागि स्तनलाई चुस्नु पर्ने निर्भरतालाई हटाइ स्वस्थ सुत्ने बानी विकास गर्न मद्दत गर्छ ।
मेरो शिशुलाई बेबी पिलो (शिशुको सिरानी) चाहिन्छ?
- सामान्यतया शिशुहरू सिरानी बिना नै राम्ररी सुत्छन् ।
- शोधले ठूला नरम सिरानीहरूले SIDS को जोखिमलाई बढाउने गरेको देखाउँछ र तिनीहरूलाई नवजातहरूको लागि सिफारिस गरिदैन । शिशुका साना सिरानीहरू सुरक्षित वा जोखिमपूर्ण हुन्छन् भन्ने सम्बन्धमा सीमित प्रमाण रहेका छन् ।
- यदि खुवाइसकेपछि शिशुको टाउको उचालिनु पर्दछ भने म्याट्रेस मुनि सिरानी राख्ने बारेमा सोच्नुहोस् जसबाट म्याट्रेस स्वयं नै माथि उचालियोस् ।
SIDS को जोखिमलाई घटाउनको लागि मेरो शिशुलाई डमी (आभासी निप्पल) प्रयोग गर्न दिनुपर्छ ?
- शोधले डमी प्रयोग गर्ने शिशुहरूमा SIDS हुने खतरा कम हुने देखाएको छ ।
- यद्यपि, डमीको प्रयोगले ओटेटिस मिडिया (मध्यकानको शोथ) को जोखिमलाई बढाउन सक्छ ।
- पहिलो पटक दूध चुस्न सिक्दै गर्दा केही शिशुहरूलाई डमीले बाधा पुर्याउन सक्छ । त्यसैले, यदि तपाईं स्तनपान गराउँदै हुनुहुन्छ भने तपाईंले स्तनपान राम्रोसँग स्थापित होस् भनेर सुनिश्चित गर्न आफ्नो शिशु एक महिना भन्दा बढी उमेरको भए पछि उनलाई डमी दिने बारेमा सोच्न सक्नुहुन्छ ।
- डमीलाई शिशु सुताउने क्रममा मात्र प्रयोग गर्नुहोस् र एकपटक शिशु सुतिसकेपछि डमी झर्यो भने झरेको डमीलाई उठाएर शिशुको मुखमा हाल्न आवश्यक छैन ।
- शिशुलाई डमी प्रयोग गर्न बाध्य गराइनु हुँदैन ।
- डमीलाई कुनै पनि गुलियो द्रव्यमा डुबाउनु हुँदैन र बारम्बार सफा गरिनुपर्छ र नियमित रूपमा प्रतिस्थापन गरिनुपर्छ ।
यदि तपाईंको शिशु अस्वस्थ छन् भने कृपया आफ्नो चिकित्सकहरूसँग सुझाव लिनुहोस् ।
“निद्राको दौरान आफ्नो शिशुलाई सुरक्षित राख्नको लागि जान्नु पर्ने बुँदाहरू”
- अनुहार तथा हातहरु छोपिएको हुनुहुँदैन
- शिशुलाई उत्तानो पारेर सुताउनुपर्छ
- धुम्रपान-रहित वातावरण
- शिशुलाई तपाईंसित एउटै कोठामा शिशु ओछ्यानमा सुताइनुपर्छ
- ठोस म्याट्रेस प्रयोग गर्नुपर्छ
- नरम वस्तुहरू तथा तन्ना खुकुलो राख्नुहुँदैन
- आरामदायक तापक्रम