6 देखि 24 महिना पुगेका बालबालिकाका लागि स्वस्थ्यकर खानपिन (1) सुरु गर्दै

(12/2019 मा संशोधन गरिएको विषयवस्तु)

जीवनको पहिलो केही महिनाहरूमा, बच्चाहरूले आमाको दूध मात्र खान सक्नुहुन्छ। स्तनपान गराउन असक्षम आमाहरू भएका वा स्तनपान नगराउने निर्णय गरेका अभिभावकहरूका बच्चाहरूले नवजात शिशुको फर्मुला मात्र खान सक्नुहुन्छ।

उहाँहरूको शरीरको प्रणाली र प्रकार्यहरू परिपक्व भइ सकेपछि, धेरैजसो बच्चाहरू 6 महिना पुगेपछि ठोस खानाहरू खाने प्रयास गर्न तयार हुने गर्छन्।

यस हातेपुस्तिकाले तपाईंलाई आफ्नो बच्चाहरूलाई ठोस खानाहरूसँग परिचित गर्ने कामको लागि तयारी हुन मद्दत पुर्याउँछ।

करिब 6 महिनाको पुगेपछि ठोस खानाहरूसँग परिचित गराउनुहोस्

बच्चाहरूको पौष्टिक आवश्यकताहरू पुरा गर्नको लागि

  • 6 महिनाको पुगेपछि, बच्चाहरूलाई आइरनको उच्च आवश्यकता हुन्छ; आमाको दूधले मात्र उहाँहरूको पौष्टिक आवश्यतकताहरूलाई पूरा गर्न सक्दैन;
  • आमाको दूध वा नवजान शिशुको फर्मुलाबाहेक, बच्चाहरूको वृद्धि र विकासलाई समर्थन गर्नको लागि विभिन्न पौष्टिक तत्त्वहरू उपलब्ध गराउन विभिन्न प्रकारका खानाहरू आवश्यक हुन्छ।

बच्चाहरूको परिपक्वता र विकाससँग उपयुक्त हुनको लागि

  • ठोस खानाहरू खानाले बच्चाहरूलाई चपाउने कार्य विकास गर्नमा मद्दत पुर्याउँछ;
  • बच्चाहरूलाई व्यापक दायराको खाना, खानाको प्रकार र स्वादहरू दिनाले पारिवारिक खानाहरू थप सहजै स्वीकार गर्नमा मद्दत पुर्याउँछ;
  • बच्चाहरूले चाँडै विभिन्न प्रकारका खानाहरूको अनुभव लिनुभयो भने, उहाँहरू नाटीकुटी गर्ने खालको हुने कम सम्भावना हुन्छ।

तपाईंको बच्चामा एलर्जीको विकास नहुन दिनका लागि, उहाँलाई 4 महिना नपुग्दासम्म कुनै पनि ठोस खानाहरू नखुवाउनुहोस्।

ठोस खानाहरू खुवाउन सुरु गर्नमा ढिलाई भएमा के हुन्छ?

पौष्टिकता सम्बन्धी समस्याहरूको जोखिम
  • बच्चाहरूले वृद्धि, विकास र स्वास्थ्यको लागि पर्याप्त मात्रामा पौष्टिक तत्त्वहरू अर्थात् आइरन र जिङ्क नपाउन सक्नुहुन्छ।
खाने बानीको समस्या
  • उहाँहरूले भविष्यमा व्यापक दायराको खानाहरू स्वीकार नगर्न सक्नुहुन्छ र यसकारणले खाँदा नाटीकुटी गर्ने खालको हुन सक्नुहुन्छ। केहीले अपरिष्कृत प्रकारका खानाहरू अस्वीकार गर्न सक्नुहुन्छ।

बच्चाहरूले खाने सीपहरू विकास गर्छन्

ठोस खानाहरूसँग पहिलोपटक परिचय गराउँदा पनि बच्चाहरू आमाको दूध वा फर्मुला दूधमा निर्भर रहुनुहुन्छ। विभिन्न पौष्टिक खानाहरू खान अनुकूल हुँदै गर्दा उहाँहरूले विस्तारै दूध कम पिउन थाल्नुहुन्छ। लगभग 2 वर्षको हुँदा, अधिकतम बालबालिकाले परिवारसँग पारिवारिक खाना खानुहुन्छ।

बच्चाहरू आफूले खाने विधिसँगै कसरी परिवर्तन हुनुहुन्छ

  1. आमाको दूध वा फर्मुला दूध चुसेर
  2. चम्चाले खाएर तथा आफै हातले खाएर
  3. कप प्रयोग गर्न सिकेर
  4. चम्चाले आफै खाएर र परिवारसँग खाएर

बच्चाहरूले नयाँ खानाको प्रकारहरूलाई कसरी स्वीकार गर्नुहुन्छ

  1. नरम पुरी
  2. बाक्लो, डल्ला भएको खाना
  3. नरम, केस्रा पारिएको वा टुक्रा पारिएको खाना
  4. स-साना टुक्राहरू पारेर काटिएका खानाहरू

बच्चाहरूको एउटा राम्रो उदाहरण स्थापना गर्नुहोस्

बच्चाहरूले प्राय: अभिभावकको खाने व्यवहार र खानाको रोजाईहरूको नक्कल गर्नुहुन्छ। तपाईंको बच्चालाई राम्रो खाने बानीहरू बसाल्न मद्दत गर्नको लागि, तपाईंले निम्न गर्नुपर्छ:

  • सन्तुलित आहारको सेवन गर्ने र चिनी, चिल्लो र नुन बढी भएका स्न्याकहरू कम खाने। नियमित रूपमा व्यायाम गरी स्वस्थकर जीवनशैली कायम राख्ने;
  • तपाईंको बच्चालाई आफूले मन पराउने खानाहरूका साथै मन नपराउने खानाहरू खाने प्रयास गर्न दिने;
  • खानाहरू बारे नकारात्मक टिप्पणी नगर्ने।

नयाँ सीपहरूको विकास गर्नुहोस्

बच्चाहरूले खानाहरूको पौष्टिक तत्त्वहरू मात्र लिने नभई नयाँ सीपहरू पनि सिक्नुहुन्छ।

  • चपाउन सिक्ने
    • बच्चाको चपाउने र निल्ने क्षमताहरू विकास हुन्छ।
  • विभिन्न स्वादहरूलाई स्वीकार गर्न सिक्ने
    • नयाँ खानाहरू खाने प्रयासले बच्चाहरूलाई विभिन्न प्रकारका खानाहरूको स्वादबारे जान्न अनुमति दिन्छ;
    • खानामा बच्चाको रुचिलाई सम्वर्धन गर्छ
  • आफै खाने सीपहरूको विकास हुने
    • बच्चाहरूले चम्चाले खान र कपबाट पिउन सिक्नुहुन्छ;
    • बच्चाहरूले आफै खान सिक्नुहुन्छ।
  • एउटा परिवारको रूपमा खानु
    • बच्चाहरूले टेबुलमा सही ढङ्गले खान सिक्नुहुन्छ;
    • बच्चाहरूले सामाजिक रूपमा खान सिक्नुहुन्छ।
  • परिवारको सदस्यहरूसँग सम्बन्ध विकास हुने
    • खाना खुवाउँदा गरिने असल अन्तरक्रियाले आमाबुवा र बच्चाको सम्बन्धहरूलाई उच्च बनाउँछ;
    • सँगै खाना खानाले तपाईं र तपाईंको बच्चालाई रमाईलो पारिवारिक समयको आनन्द लिन दिन्छ।

तपाईंको बच्चा ठोस खानाहरू खान तयार भएको कुरा कसरी थाहा पाउने?

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/d1m2u)

तपाईंको बच्चामा निम्न संकेतहरू देखिएको छ भने, उहाँले ठोस खानाहरू प्रयास गर्न सक्नुहुन्छ:

चालहरू
  • कुर्सीमा ढासिएर राम्ररी बस्नु;
  • आफ्नो टाउको माथि उठाउनु;
  • वस्तुहरू समाउनको लागि हात पुर्याउनु।
खाने बानीहरू
  • खानामा रुचि देखाउनु;
  • चम्चाको लागि आफ्नो मुख खोल्नु;
  • चम्चा माथि आफ्नो ओठहरू बन्द गर्नु;
  • खाना निल्न सक्षम हुनु।

बच्चाहरूले पहिलो पटक यी सङ्केतहरू देखाउने उमेरमा निकै भिन्नता हुने गर्छ, तर धेरैजसो बच्चाहरूमा करिब 6 महिना पुग्दा यी व्यवहारहरू देखा पर्छ।

तपाईंको बच्चा 7 महिना पुगेपछि उहाँले यी सङ्केतहरू देखाउनुहुन्न भने, आफ्नो चिकित्सक वा नर्ससँग छलफल गर्नुहोस्।

बच्चाहरूलाई ठोस खाना खुवाउन सुरु गर्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरू

  • बच्चाहरू अझै पनि दुधमा नै निर्भर रहुनुहुन्छ। यो चरणमा आएर दुधको खुवाइहरूलाई परिवर्तन नगर्नुहोस्;
  • सामान्य खुवाउने समय भन्दा 30 मिनेट पहिला बच्चाहरूलाई पुरी खानारा दिनुहोस्;
  • सुरु गर्नको लागि, बच्चाहरूलाई एकपटकमा 1 - 2 चियाचम्चा पुरी दिनुहोस्। बच्चाहरूले राम्रोसँग खानुभयो भने, खुवाउने मात्रालाई विस्तारै बढाउनुहोस्;
  • उपयुक्त खाना रोजाईहरूमा निम्न समावेश हुन्छन्: मासुको पुरी, अण्डा जस्ता आइरनयुक्त खानाहरू, आइरनको फर्मुलायुक्त राइस सिरिएल, सुख्खा सिमी पूरी; सागसब्जी तथा फलफूलको पूरी पनि उपयुक्त हुन्छन्;
  • नरम र लेदो खाना खुवाउने प्रयास गरिसकेपछि, बच्चाहरू खानाका अधिक प्रकारहरू खाने प्रयास गर्नको लागि अगाडि बढ्न सक्छन्;
  • यदि आवश्यक भएमा बच्चाहरूलाई खानाको बीचमा पानी पिउन दिनुहोस्।

बच्चाहरूको लागि सुरु गर्नको लागि उपयुक्त खानाहरू के-के हुन?

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/5zj3e)

सुरूवात गर्ने पहिलो खानाहरू आइरनयुक्त हुनुपर्छ र बच्चाहरूलाई निल्न सजिलो हुने प्रकारको नरम हुनुपर्छ। नरम र पुरी बनाउन सकिने खानाहरू चयन गर्नुहोस्।

अन्नहरू: राइस सिरिअल, गहुँ, चलाइएको कोन्जी

सजिलै गरी पुरी बनाउन सकिने खालको सागसब्जीहरू: फर्सी, चिनियाँ साग, साग, सखरखण्ड

पाकेको र नरम फलफूल: केरा, नास्पाती, आरु, स्याउ, मेवा

मासु, माछा वा अण्डाहरू: मासु, अण्डाको पहेँलो भाग, माछा, सुँगुर वा कुखुराको कलेजो

  • आइरनयुक्त खानाहरू हुँदासम्म, खानाहरूको परिचय गराउनुपर्ने कुनै विशेष क्रम छैन;
  • तपाईंले 3 देखि 4 दिनको लागि आइरनयुक्त राइस सिरिअलहरू दिन सक्नुहुन्छ र त्यसपछि मासु, सागसब्जी वा फलफूलको पुरी थप्न सक्नुहुन्छ। तपाईंले बच्चालाई सिधै पुरी खुवाउन सक्नुहुन्छ वा खाना पस्किँदा राइस सिरिअलसँग मिसाउन सक्नुहुन्छ;
  • बच्चाहरूलाई चाँडै नै प्रयास गर्नको लागि सागसब्जीहरू दिनुहोस् ताकी उहाँहरूले अरू सागसब्जी र फलफूलहरू सजिलै गरेर स्वीकार गर्नुहोस्।

आइरनयुक्त पहिलो खानाहरू

  • तपाईंको बच्चालाई अण्डा, गाढा हरियो सागसब्जी, कलेजो, टोफु, मुसुरोको दाल र माछा जस्ता आरनयुक्त खानाहरू दिनुहोस्। यी खानाहरूलाई सजिलै पुरी बनाउन सकिन्छ। राम्ररी टुक्रा पारिएको भएमा तपाईंले मासु र माछा पनि दिन सक्नुहुन्छ;
  • यी खानाहरू चम्चामा लिनुहोस्, जस्तै अण्डाको पहेँलो भाग वा कलेजो। दूधमा मिसाएर पुरी वा लेदो बनाउनुहोस्;
  • वा यी खानाहरूलाई कोन्जी, नवजात शिशुको सेरल आदि मा मिसाउनुहोस्;
  • कृपया “6 देखि 24 महिना पुगेका बालबालिकाका7 दिनको स्वास्थ्य आहार योजना” को सन्दर्भ लिनुहोस्।

बच्चाको खाना कसरी तयार गर्ने

उपकरणहरू

तपाईंको बच्चाको लागि पुरी तयार गर्न मिहिन कोरेसो, स्ट्रेनर वा चाल्नी वा ब्लेन्डरको प्रयोग गर्नुहोस्:

बच्चाको खाना आफै बनाउनुहोस्

उपयुक्त खानाहरू

पकाउने विधिहरू

चामलको कन्जी, सिमीहरू,
सुँगुरको कलेजो, सागसब्जीका पातहरू

पकाएर राम्ररी टुक्रा पारिएको। काटिएको टुक्राहरूलाई एउटा चम्चा/रडले चलाउँदै स्ट्रेनरले पिस्नुहोस्

कुभिन्डो, गाजर जस्ता सागसब्जीहरू

नरम नभएसम्म पकाउनुहोस्। एउटा राम्रो कोरेसोमा राखेर पुरी बनाउनुहोस् वा स्ट्रेनरद्वारा थिच्नुहोस्

फलफूल

चम्चाले थिचेर पुरी बनाउनुहोस्। अझै नरमबनाउनको लागि, स्ट्रेनरले दबाउनुहोस्।

अण्डाको पहेँलो भाग (धेरै उमालिइएको अण्डाहरू)

पकाइएको अण्डाको पहेँलो भागलाई काँटा चम्चाले थिच्नुहोस्। नरमप्रकारको बनाउनको लागि मनतातो पानी

राइस सरिअल कसरी बनाउने:

(सम्बन्धित भिडियो हेर्नुहोस्: http://s.fhs.gov.hk/z9yiz)

  1. एक देखि दुई चियाचम्चा नवजात शिशुको राइस सरिअललाई एउटा सफा कचौरामा राख्नुहोस्।
  2. मनतातो पानी, आमाको दूध वा फर्मुला दूधसँग राम्ररी मिसाउनुहोस्।
  3. उपयुक्त प्रकारको बनाउनको लागि पानी वा दूधको मात्रालाई मिलाउनुहोस्।

उपयोगी सुझावहरू: पानी वा दूध थपेर पुरीको बाक्लोपनलाई मिलाउनुहोस्।

विवरणहरूका लागि, कृपया “ 6 देखि 24 महिना पुगेका बालबालिकाका लागि 7 दिनको स्वस्थकर खाना योजना निर्देशिका” को सन्दर्भ लिनुहोस्।

पहिलो खानाहरू बारे प्राय: सोधिन प्रश्नहरू

  1. भातको सेरल र भात कोन्जीमा कस्तो तुलना हुन्छ?
    • भातको सेरल वा नवजात शिशुको सेरलमा फलाम थपिएको हुन्छ भने कोन्जीमा हुँदैन;
    • बच्चाहरूले पहिलो पटक ठोस खाना खान सुरु गर्दा केही आमाबुवाहरूको लागि भातको सेरल सजिलो रोजाइ हुन्छ;
    • बच्चाहरू प्युरी खान अभ्यस्त भएपछि अझ बढी माग गर्नुभयो भने अभिभावकहरूले उहाँहरूको लागि पारिवारिक खानाको ढक्कीबाट आइरनयुक्त कोन्जी दिन सक्नुहुन्छ;
    • अण्डाको पहेँलो भाग, कलेजो, हरियो सागसब्जीहरू, टोफु, माछा र मासुद्वारा उपलब्ध गराइएको आइरन सजिलैसँग शोषित हुन सक्छ। कोन्जीको स्वाद र प्रकारहरू परिवर्तन गर्नाले उहाँहरूलाई विभिन्न खानाहरू खान अनुकूल गराउन सक्छ र उहाँहरूलाई चपाउन मद्दत हुन्छ।
  2. हरियो सागपात बच्चाहरूको लागि उपयुक्त हुन्छ?
    • बच्चाहरूको विकासको लागि पौष्टिक तत्त्वहरू उपलब्ध गराउन हरियो सागपातहरूमा बेटा-केरोटिन, आइरन, क्यालसियम र फाइबरको अधिक मात्र हुन्छ;
    • हरियो सागसब्जीहरू फर्सी वा गाजरहरू जति गुलियो हुँदैन तर धेरैजसो बच्चाहरूले तिनीहरूलाई राम्ररी स्वीकार गर्नुहुन्छ।
  3. ठोस खाना खुवाउन थाले पछि आमाहरूले स्तनपानलाई निरन्तरता दिनुपर्छ?
    • आमाहरूले स्तनपानलाई निरन्तरता दिनुपर्छ। आमाको दूधले बच्चाहरूलाई पौष्टिक तत्त्व र संक्रमणको विरूद्धमा सुरक्षा प्रदान गर्न जारी राख्छ। ठोस खानाहरूसँग परिचय गराउँदै स्तनपान गराउनाले बच्चामा खानाको एलर्जी र प्रकार 1 मधुमेह मेलिटस जस्ता प्रतिरक्षा रोगहरूको जोखिमलाई कम गर्छ।
  4. बच्चाहरू 6 महिना पुगेपछि “दुई नम्बर” फर्मुलामा परिवर्तन गर्नुपर्छ?
    • यो आवश्यक छैन। बच्चाहरूले तिनीहरूले प्रयोग गरी रहेको “एक नम्बर” फर्मुलालाई निरन्तरता दिन सक्नुहुन्छ वा अभिभावकहरूले छनोट गरेमा “दुई नम्बर” फर्मुलामा परिवर्तन गर्न सक्नुहुन्छ;
    • बच्चाहरूले विभिन्न पौष्टिक खानाहरू समावेश भएको आहारको साथमा आमाको दूध वा नवजात शिशुको फर्मुलाबाट पर्याप्त मात्रामा पौष्टिक तत्त्वहरू प्राप्त गर्न सक्छन्।

खाना खाने समयको लागि तयारी गर्नु

केही तयारीहरू बनाइएमा, तपाईं र तपाईको बच्चाको लागि खाना खाने समय अझ रमाईलो हुन सक्छ।

खाना खाने समयको तयारी गर्नको लागि चारवटा चरणहरू

  1. आफ्नो बच्चालाई "तयार गर्नुहोस्"

    • खुवाउनु भन्दा अगाडि तपाईंको बच्चाको हातहरू र मुख सफा गर्नुहोस् र एउटा नियमित क्रियाकलाप स्थापना गर्नुहोस् भनौं उहाँको र्याले लगाइ दिने, उहाँसँग कुराकानी गर्ने।

    उद्देश्य: बच्चाहरूलाई “यो खाना खाने समय हो” भनी थाहा दिन। यसले उहाँहरूलाई दैनिक रूटिनमा स्थापना हुन मद्दत गर्छ।

  2. ध्यान अन्यत्र मोडिदिने वस्तुहरूलाई हटाउनुहोस्

    • टिभी, विद्युतीय यन्त्रहरू बन्द गर्नुहोस् र खेलौनाहरूलाई टाढा राख्नुहोस्;
    • तपाईंको बच्चाको ध्यानलाई तपाईं र खाने काममा लगाउनुहोस्।

    उद्देश्य: उद्देश्य: खेलौना खेल्दै वा टिभी हेर्दै खाने कार्यबाट उत्पन्न भएको समस्याहरूलाई रोकथाम गर्न, जस्तै:

    • ध्यान अन्यत्र मोडिएको कारणले आवश्यकता भन्दा बढी खानु;
    • ठूला बच्चाहरूले टिभी हेर्नमा ध्यान केन्द्रित गर्न र खाना कम खान सक्नुहुन्छ;
    • बच्चाहरूले आफै खानमा कम रुचि राख्नुहुन्छ।
  3. आफूलाई तयार राख्नुहोस्

    • तपाईंको बच्चाले आफ्नो आवश्यकता अनुसार खानुहुन्छ। उहाँले कति खानुहुन्छ भनी चिन्ता नलिनुहोस्;
    • बच्चाले आफै खान सिक्दा हुने झमेलाको लागि तयार हुनुहोस्। उदाहरणको लागि, भुइँलाई पत्रिकाले छोप्नुहोस्।
  4. बस्ने आसन

    • तपाईंको बच्चालाई एउटा सामान्य कुर्सीमाथि बस्न दिनुहोस्;
    • कुराकानीलाई प्रोत्साहन दिनको लागि तपाईंको बच्चासँग एकै स्तरमा आमनेसामने भएर बस्नुहोस्।

    उद्देश्य: आमाबुवाहरूले सजिलै बच्चाहरूको निम्न कुराहरू अवलोकन गर्न सक्नुहुन्छ:

    • उहाँले कसरी खानुहुन्छ;
    • उहाँको आफै खाने मनसाय;
    • उहाँले नयाँ खानेकुराहरूमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ;
    • उहाँ अघाएको वा भोको हुनुहुन्छ।

खुवाउनको लागि एउटा नियमित स्थान र आसनमा बस्नमा अभ्यस्त हुनाले बच्चाहरूले त्यस कुर्सीमा बस्नु र “यो खानाको समय हो” सँग जोड्नुहुनेछ। यसले बच्चाहरूलाई खाना खाने समयको लागि तयार हुन र आफुलाई स्थापित गराउन मद्दत पुर्याउँछ । स्थान सुरक्षित र सहज हुनुपर्दछ। अग्लो कुर्सी वा बुस्टर कुर्सी उत्तम हुन्छ।

आफ्नो बच्चालाई एकपटकमा 1 घण्टा भन्दा बढी समयको लागि अग्लो कुर्सीमा नराख्नुहोस्।

यदि बच्चाहरूलाई निम्नलिखित अवस्थामा खुवाइएको छ भने आमाबुवाहरूले निम्न कुराहरूमाथि ध्यान दिनुपर्छ:

आफ्नो काखमा राख्ने ➜ यसरी तपाईं र तपाईंको बच्चालाई एक-अर्काको मुखमा हेर्न कठिन हुन सक्छ।

भुइँको चकटीमा ➜ उहाँ घस्रिन वा हिँड्न सक्ने भएपछि खाना खुवाउन गाह्रो हुन सक्छ। उहाँहरूलाई “बसेर खाने” बानीको विकास गर्न गाह्रो हुन्छ।

पुश चेयर वा बेबी वाकरमा➜ बच्चाहरू पुश चेयरबाट बाहिर निस्कन वा बेबी वाकरमा यताउता चल्न सक्नुहुन्छ। उहाँहरूले बसेर खान सिक्नुहुन्न।

आमाबुवाहरूले बच्चालाई एउटा चम्चाले कसरी खुवाउनुपर्छ?

बच्चाको चम्चा

  • नरम टुप्पो
  • स्कुपको आकारले मुख भरी अट्ने खाना लिन सक्छ
  • लामो बिँड भएको चम्चालाई उठाउन सजिलो हुन्छ
  • चम्चामा प्रयोग गरिएको सामग्री नभाँचिने र बच्चाको लागि सुरक्षित छ

तपाईंको बच्चालाई ठोस खाना कहिले खुवाउनु पर्छ?

  • तपाईंको बच्चा आराममा रहेको बेला ठोस खानाहरू दिनुहोस्। उहाँ बढी भोकाएको वा निन्द्रा लागेको अवस्थामा हुँदा ठोस खानाहरू खाने प्रयास गर्दा अधैर्य हुनुहुनेछ;
  • उहाँले केही भोकाएको अनुभव गरेमा सामान्य खुवाउने समय भन्दा 30 मिनेट अगाडि थोरै प्युरी खानाहरू दिनुहोस्;
  • तपाईंको बच्चालाई दिनको समयमा नयाँ खाना चाख्न दिनुहोस्। यसले कुनै पनि प्रतिक्रियाहरू अवलोकन गर्न सजिलो हुनेछ।

तपाईंको बच्चालाई खानाको प्युरी कसरी खुवाउने:

  1. बच्चालाई तयार गर्नुहोस् र सिटमा ल्याउनुहोस्। (कृपया “ खाना खाने समयको लागि तयारी गर्नु” को सन्दर्भ लिनुहोस्)
  2. तपाईंको बच्चालाई चम्चामा भएको खानालाई हेर्न दिनुहोस्।
  3. उहाँले आफ्नो मुख खोलेपछि खुवाउनुहोस् अनि चम्चाको स्तरलाई समाउनुहोस्।
  4. उहाँले मुख बन्द गरिसकेपछि चम्चालाई बिस्तारै बाहिर निकाल्नुहोस्। उहाँको मुखमा खाना नखन्याउनुहोस्।

सुझावहरू:

  1. यदि तपाईंको बच्चाले प्युरी निल्न सक्नुभएन वा उहाँले आफ्नो जिब्रोले चम्चालाई बाहिर धकेलि दिनुभयो भने उहाँ ठोस खानाको लागि अझै तयार हुनुहुन्न। एक हप्ता पछि फेरि प्रयास गर्नुहोस्;
  2. बच्चाहरूले सुरुसुरुमा मुखको छेउबाट खाना खसाउन सक्नुहुन्छ। मुखको मांसपेशीहरूमा उहाँको नियन्त्रणमा विकास हुँदै जाँदा यसमा विस्तारै सुधार आउनेछ।

कति दिने

  • दिनको 1 देखि 2 चिया चम्चाबाट सुरु गर्नुहोस्;
  • तपाईंको बच्चाले मन पराउनुभयो भने थप खान दिनुहोस्। मात्रा र बारम्बारतालाई बिस्तारै बढाउनुहोस्;
  • तपाईंको बच्चालाई ठोस खानाहरू खुवाएपछि दूध खुवाउनुहोस्। यो चरणमा स्तनपानलाई बन्द नगर्नुहोस्।

बच्चाहरू नरम प्युरी खान अभ्यस्त भइ सकेपछि

  • मात्रा र ठोस खाना खुवाउनलाई दिनको 2 देखि 3 पटकमा बढाउनुहोस्;
  • खानाको प्रकारहरूलाई विस्तारै मिलाउनुहोस्। बाक्लो पुरी वा नरम तरिकाले मिचिएको खानाहरूमा परिवर्तन गर्नुहोस् (कृपया “अगाडि बढ्ने” हातेपुस्तिकाको सन्दर्भ लिनुहोस्);
  • खानाको स्वादबारे बच्चाको अनुभव निर्माण गर्नको लागि नयाँ खानाहरू एक पटकमा एउटा मात्र खुवाउन सुरु गर्नुहोस्। तपाईंले नयाँ खाना थपेर बच्चाले प्रयास गरिसक्नुभएको खानासँग पस्कन सक्नुहुन्छ।

नयाँ खाना खुवाउन सुरु गर्नको लागि “नियमहरू”:

  • खानाहरू राम्रोसँग पकाइएको हुनुपर्छ;
  • नयाँ खानाहरू एक पटकमा एउटा मात्र खुवाउनुहोस्;
  • 1 - 2 चियाचम्चाबाट सुरु गर्नुहोस् र विस्तारै मात्रा बढाउनुहोस्। अर्को नयाँ खाना खुवाउन सुरु गर्नुभन्दा अगाडि 2 - 4 दिनको लागि सो खाना प्रयास गर्नुहोस्।
  • कुनै एलर्जीजन्य प्रतिक्रियाको लागि अवलोकन गर्नुहोस्। यदि कुनै पनि एलर्जीजन्य प्रतिक्रिया भएन भने त्यसपछि अर्को नयाँ खाना खुवाउने प्रयास गर्नुहोस्।

खाना खाने समयलाई हामीले कसरी मनोरञ्जक बनाउन सक्छौं?

  1. तपाईंको बच्चाको गतिलाई अनुसरण गर्नुहोस्
    • तपाईंको बच्चाले खाए जति नै चाँडो वा विस्तारै खुवाउनुहोस्;
    • खानामा उहाँको रुचि हराएमा उहाँको ध्यानाकर्षण गर्नको लागि उहाँलाई बिस्तारै बोलाउनुहोस्;
    • अघाएको सङ्केतहरू देखाएपछि उहाँलाई खुवाउन बन्द गर्नुहोस्।
  2. खाना खुवाउँदा आफ्नो बच्चासँग कुराकानी गर्नुहोस्
    • उहाँसँग विस्तारै कुरा गर्नुहोस्। उहाँलाई हेरेर मुस्कुराउनुहोस्। यसले उहाँलाई आराम गर्न र राम्ररी खान मद्दत गर्छ;
    • तपाईंको बच्चाले तपाईंसँग कुराकानी गर्दा उहाँलाई तत्काल प्रतिक्रिया दिनुहोस्। यसले उहाँलाई खुसी बनाउँछ;
    • कुराकानीको कमीले उहाँले अल्छि र चिन्तित अनुभव गर्नुहुनेछ।
  3. बच्चाहरूलाई सहभागी हुन दिनुहोस्
    • तपाईंको बच्चाले चम्चा वा खानामा रुचि देखाउँदा उहाँलाई त्यसलाई छुन र समाउन वा आफै खान दिनुहोस्। यदि आवश्यक भएमा सहयोग गर्नुहोस्।
  4. बच्चाहरूलाई प्रोत्साहित गर्नुहोस्
    • तपाईंको बच्चाले नयाँ कुराहरूको प्रयास गर्दा उहाँलाई शब्दहरू र हाउभाउको भाषामा प्रशंसा गर्नुहोस्;
    • कुनै कुरा कसरी गर्ने भन्नेबारे उहाँलाई देखाउनुहोस् र उहाँ त्यो प्रयास गर्नको लागि अझ खुशी हुनुहुनेछ;
    • उहाँले राम्रो गर्दा उहाँको प्रशंसा गर्नुहोस्। त्यसपछि उहाँले राम्रो काम गर्नुभएको छ भनी थाहा पाउनुहुन्छ।

बच्चाहरू भोकाएको र अघाएको सङ्केतहरूलाई बुझ्नुहोस्

  • आफूले कति खानु पर्छ भन्ने कुरा बच्चाहरूलाई थाहा हुन्छ;
  • उहाँहरूले हाउभाउको भाषामा “मलाई भोक लागेको छ” वा “म अघाएँ” भन्ने सङ्केतहरू देखाउनुहुन्छ;
  • धेरैजसो बच्चाहरूले 15 देखि 30 मिनेट भित्र अघाएको अनुभव गर्ने गर्नुहुन्छ;
  • खुवाइको समयमा उहाँहरूलाई नै गतिको नेतृत्व गर्न दिनुहोस्।

भोकाएको सङ्केतहरू

  1. खानालाई रुचिपूर्वक हेर्नु;
  2. टाउकोलाई खाना र चम्चाको नजिक लैजानु;
  3. खाना तर्फ ढल्कनु;
  4. बढी भोक लाग्दा झर्कनु वा रुनु।

अघाएको सङ्केतहरू

  1. खानमा कम रुचि देखाउनु;
  2. झनभन्दा झन ढिलो गरेर खानु;
  3. आफ्नो टाउको टाढा लानु;
  4. आफ्नो मुख खुम्चाउनु;
  5. खानालाई बाहिर थुक्नु;
  6. चम्चा र खानालाई टाढा धकेल्नु वा फ्याँक्नु;
  7. ढाड खुम्चाउनु।

सुझावहरू:

तपाईंको बच्चा अघाइसकेपछि पनि तपाईंले उहाँलाई खुवाइ राख्नुभयो भने, तपाईंको बच्चाले निम्न गर्न सक्नुहुन्छ:

  • असहज महसुस गर्न;
  • खानु र गाह्रो हुनुलाई एकसाथ जोड्नु;
  • खाना खाने बेलामा तपाईंसँग किचकिच गर्न र उहाँले कम खान सक्नुहुन्छ;
  • आवश्यकता भन्दा बढी खान सक्नुहुन्छ जसले सजिलै मोटोपनको रोग लाग्छ।

बच्चाको भोक

बच्चाहरूलाई बढ्नको लागि पर्याप्त पोषणको आवश्यकता हुन्छ तर धेरै खाने बच्चाहरू अग्लो हुनुहुन्छ भन्ने छैन। वृद्धिलाई गर्भावस्थाको अवधिमा वंशाणुगत रूपमा नियन्त्रण गर्न र विकासले असर गर्न सकिन्छ। धेरै खुवाउनाले मोटोपन र सम्बन्धित स्वास्थ्य समस्याहरू हुन सक्छ।

  • वास्तवमा आफ्नो वृद्धि र क्रियाकलापहरूको लागि सही मात्राको पौष्टिक तत्त्व पाउनको आफूले कति खाने भन्नेबारे बच्चाहरूलाई थाहा हुन्छ;
  • जीवनको पहिलो तीन महिनामा बच्चाहरू निकै छिटो बढ्ने गर्नुहुन्छ र त्यसकारण उहाँहरूले बढी खाने गर्नुहुन्छ;
  • वृद्धिको गति कम भएपछि बच्चाहरूलाई कम पौष्टिक तत्त्वको आवश्यकता पर्छ। त्यसकारण उहाँहरूले कम खानुहुन्छ। उहाँहरू कहिलेकाहीँ केही नखाएर पनि सक्रिय र उत्साहित हुनु सामान्य हो।

एकजना बच्चा स्वस्थ्यकर भएर बढ्नको लागि आमाबुवाको काम निम्न बमोजिम हुन्छ:

  • पौष्टिक रूपमा उपयुक्त र सुरक्षित खाना उपलब्ध गराउनु;
  • बच्चाहरूलाई उहाँहरूको भोक अनुसार खुवाउनु।

प्रत्येक खाना खाने समयमा बच्चाहरूको भोक फरक-फरक हुन्छ:

  • प्रत्येक बच्चा अनुपम खालको हुने गर्छ त्यस कारणले तपाईंको बच्चाको भोकलाई अरूसँग तुलना गर्ने नगर्नुहोस् ;
  • क्रियाकलापहरू गरिसकेपछि बच्चाहरूले बढी खाने गर्छन् तर कहिलेकाहीँ तिनीहरू थकित भएपछि खान अस्विकार गर्ने गर्छन् ;
  • तिनीहरू चाँडो चाँडो बढ्दा तिनीहरूले बढी खाने गर्छन्।

बच्चाहरूलाई खुवाउने सर्वोत्तम उपाय भनेको उहाँहरूको खाने रुचि अनुसार जानु हो। तपाईंको बच्चाले प्रत्येक खानामा समान मात्रा खानुपर्छ भनी ढिपी नगर्नुहोस्।

आमाबुवाहरूबाट सोधिने आम प्रश्नहरू

एक बुवाको चिन्ता: “मेरो बच्चा 4 महिनाको हुनुभयो। उहाँको खुवाइ नियमित छैन, कहिले धेरै खानुहुन्छ, कहिले थोरै। उहाँको ध्यान सजिलै मोडिन्छ। मैले उहाँको प्रतिक्रियाहरूको पालना गरेर खुवाए भने, उहाँले पर्याप्त नखान सक्नुहुन्छ र खुवाइको तालिकामा स्थापित हुन सक्नुहुन्न।”

आमाबुवाहरूमा यी चिन्ताहरू हुनु आम कुरा हो । तपाईंको बच्चाले किन यस्तो गरेर खाना खानुहुन्छ र व्यवहार गर्नुहुन्छ भन्ने कुरा तपाईंले बुझ्नुभयो भने तपाईं कम चिन्तित हुनुहुनेछ:

  1. बच्चाहरूलाई खुवाउने सही मात्रा थाहा नहुने भएकोले बच्चाहरूले यथेष्ट मात्रामा नखाने हो कि भनेर अभिभावकहरू बच्चाहरूबारे चिन्तित हुने गर्नुहुन्छ
    • बच्चाहरू एक प्रणालीका साथ जन्म लिनुहुन्छ जसले उहाँहरूले कहिले र कति खाने भन्ने भनिरहेको हुन्छ। उहाँहरूलाई भोक लाग्दा, उहाँले शारीरिक हाउभाउले अभिभावकहरूलाई भन्नुहुन्छ। बच्चाहरूले भोकाएको संकेत गर्ने बित्तिकै अभिभावकहरूले खुवाउनुभयो भने उहाँहरूले पक्कै पनि पर्याप्त खानुहुनेछ।
  2. बच्चाहरूको ध्यान सजिलै अन्यत्र मोडिने हुँदा पर्याप्त खानुभएन भनेर आमाबुवाहरू चिन्तित हुने गर्नुहुन्छ
    • अभिभावकहरूले बच्चाहरूको ध्यान अन्यत्र मोड्न सक्ने कुनैपनि वस्तुहरूलाई खाना खाने समयमा हटाइ दिनुपर्छ;
    • बच्चा भोकाएको बेलामा उहाँले प्राय: चाँडो चाँडो अनि बढी ध्यान दिएर खाने गर्नुहुन्छ;
    • बच्चाले रोकिएर यताउता हेर्नुहुन्छ भने उहाँलाई ब्रेक लिन दिनुहोस्। त्यसपछि, उहाँको खानातर्फ ध्यानाकर्षण गराउनको लागि उहाँलाई बोलाउनुहोस्;
    • अझैपनि उहाँले खानामा रुचि देखाउनुभएन भने यसको अर्थ उहाँ अघाउनुभएको छ।
  3. प्रत्येक खाना खाने समयमा खाएको खानाको मात्रा फरक फरक हुने भनी चिन्तित हुने गर्नुहुन्छ
    • प्रत्येक खाना खाने समयमा बच्चाहरूको भोक फरक-फरक हुन्छ। उहाँहरूले पहिलेको खानामा कम खानुभयो भने अब आउने खाना खाने समयमा धेरै खानुहुनेछ। अभिभावकहरूले बच्चालाई उहाँको अघाएको र भोकाएको संकेतहरूको अनुसार खुवाउनु भयो भने, उहाँहरूले सन्तुष्ट हुनुहुनेछ।
  4. बच्चाहरूले नियमित समयमा खाना खानुहुन्न भनी अभिभावकहरू चिन्तित हुने गर्नुहुन्छ
    • सामान्यतया, 3 देखि 4 महिना पुगेका बच्चाहरूको आफ्नै सुत्ने र खाने ढाँचा हुने गर्छ;
    • दिउँसोको समयमा, धेरैजसो बच्चाहरूलाई खाना खाएको 3 देखि 4 घण्टासम्म भोक लाग्दैन;
    • भोक नलागेको बेलामा बच्चाहरूलाई खुवाउनाले उहाँहरूको दैनिक नियमित कार्यमा बाधा पुग्छ;
    • बच्चाहरूलाई तपाईंको समय तालिकालाई अनुसरण गर्न दबाब दिनाले उहाँहरूको नियमित खाने ढाँचा विचलित हुन सक्छ।

बच्चाहरू टाढा नै रहनु पर्ने खाना र पेय पदार्थहरू

  1. चिनी थपिएको पेय पदार्थहरूले बच्चाको दाँतमा हानी पुर्याउँछ
    • ग्लुकोज पानी:
      • ग्लुकोज पेय पदार्थले बच्चाहरूमा पानी पिउने बानीको निर्माण गर्न मद्दत गर्दैन।
    • फलफूलको रस:
      • नवजात शिशुहरूलाई फलफूलको जुसको आवश्यकता पर्दैन;
      • उहाँहरूले पुरी गरिएको वा काटिएको ताजा फलबाट धेरै पोषण र रेसा भएको आहार प्राप्त गर्नुहुन्छ;
      • 1 देखि 3 वर्ष उमेरका बच्चाहरूले पिउनुभयो भने दिनमा 120ml भन्दा धेरै फलफूलको जुस पिउनुहुँदैन।
    • मह:
      • महमा क्लोस्ट्रिडियम जीवाणु रहेको हुन सक्छ;
      • उहाँहरूको रोग प्रतिरोधी क्षमता अपरिपक्व हुने भएकोले 1 वर्ष भन्दा कम उमेरको बच्चाहरूलाई मह नदिनुहोस्।
  2. चिया, कफी र शक्ति पेय पदार्थ वा हल्का पेय पदार्थ जस्ता क्याफिनयुक्त पेय पदार्थहरू
  3. मिथाइलमर्करीको उच्च मात्रा भएको माछा
    • यसमा शार्क, स्वर्डफिस, मार्लिन, टुना (बिगआईज, ब्लुफिन, अल्बाकोर, यलोफिन जातिहरू पर्दछन्), किङ म्याकरेल, स्प्लेन्डिड अल्फोन्सीनो, अरेन्ज रोवघी, यलोब्याक सिब्रिम र ड्यास एण्ड डट गोटफिस समावेश हुन्छन्।
  4. नपकाइएको खाना र पास्चराइज नगरिएको दुग्ध उत्पादनहरू
  5. सजिलै अड्किने खालको खानाहरू
    • सानो र कडा टुक्राहरू भएको खानाहरू अर्थात् मकै, बदाम, सुपारी, बियाँहरू;
    • कडा वा झुरुम झुरुम हुने खान कुराहरू: अर्थात् क्याण्डी, नपकाइएको तरकारीहरू;
    • हाड र काँडा भएको मासु र माछाहरू र बियाँ भएको फलफूलहरू।
  6. नुन, सोया सस, चिकन पाउडर
    • बच्चाहरू नुनिलो स्वादसँग अभ्यस्त भएमा स्वाद नभएको खानाहरू सजिलै गरेर स्वीकार गर्नुहुन्न;
    • अत्यन्तै धेरै नुन खानाले भविष्यमा उच्च रक्तचाप हुने जोखिमलाई वृद्धि गर्छ।

बच्चाहरू र खानाको एलर्जीहरू

खानाको एलर्जी निश्चित खानाको विरुद्धमा प्रतिरक्षा प्रतिक्रिया हो।

खानाको एलर्जीको लक्षण र सङ्केतहरू :

खाना खाएको घण्टौ वा धेरै दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् :

  • धेरै घण्टा भित्र देखा पर्ने लक्षणहरू:
    • सामान्य लक्षणहरू:
      • युर्टिकारिया, झन् खराब हुँदै गएको एक्जिमा;
      • आँखाहरू, जिब्रो, अनुहार, मुख र ओठहरू सुन्निने;
      • पातलो दिसा जाने, वान्ता हुने
    • सापेक्ष रूपमा दुर्लभ तर गम्भीर लक्षणहरू निम्न लगायतका छन्:
      • श्वासप्रश्वासमा कठिनाइ हुने, ढल्ने।
  • केही बच्चाहरूलाई 1 वा 2 दिनपछि एलर्जिक प्रतिक्रिया हुन सक्छ: उदाहरण, एक्जिमा, निरन्तर वान्ता हुने, स्वा-स्वा हुने, कब्जियत, पेट दुख्ने।

सामान्य रूपमा एलर्जी गराउन सक्ने खानाहरू

दुग्ध उत्पादन, अण्डा, बदाम, माछा, सेलफिस, नट, गहुँ (उदाहरण, ब्रेड, बिस्कुट), दालहरू, चराको गुँड।

बच्चाले कहिले यी खानाहरू खान सक्नुहुन्छ ?

  • ४ महिना नपुगी बच्चालाई कुनै पनि ठोस खानाहरू नदिनुहोस्।
  • अभिभावकहरूले बच्चा लगभग 6 महिनाको हुँदा ठोस खानाहरू खान थालेपछि उहाँहरूलाई यी खानाहरू सुरु गराउन सक्नुहुन्छ
  • यी खानाहरू दिनमा ढिलो गर्नाले वा यसबाट टाढा नै रहनाले बच्चाहरूलाई एटोपिक डर्माटिलिटिस (एक्जिमा) वा अरू एलर्जीजन्य रोगहरू विकास गर्नबाट रोकथाम गर्न सक्दैन;
  • गम्भीर एक्जिमा वा थाहा भएको खानाको एलर्जी भएका बच्चाहरूको लागि, अभिभावकले यी खानाहरू खुवाउन सुरु गर्नुअघि आफ्नो बाल चिकित्सक वा पारिवारिक चिकित्सकसँग छलफल गर्नुपर्छ।

तपाईंलाई आफ्नो बच्चालाई खानाको एलर्जी छ जस्तो लाग्छ भने:

  • सकेसम्म छिटो आफ्नो पारिवारिक चिकित्सकको परामर्श लिनुहोस्। तपाईंलाई चिकित्सकले निर्देशन नदिए सम्मको लागि तपाईंलाई समस्या हो भनेर शङ्का लागेको खानाहरू दिन बन्द गर्नुहोस्;
  • यदि प्रतिक्रियाहरू गम्भीर खालको छ भने बच्चालाई तत्काल अस्पताल लग्नुहोस्;
  • खानाको एलर्जी भएको रोग पहिचान गरिएको बच्चाहरूले खानाहरू छनौट गर्नमा अनिवार्य रूपमा चिकित्सकको निर्देशनलाई पालना गर्नु पर्छ।

आमाबुवाहरूको लागि स्मरणपत्र

  • लगभग 6 महिनाको उमेरमा, तपाईंको बच्चाको पोषण आवश्यकतालाई पूरा गर्नको लागि ठोस खानाहरू खुवाउन सुरु गर्नुहोस्। आमाबाट एन्टीबडीहरू प्राप्त गर्नको लागि स्तनपानलाई निरन्तरता दिनुहोस्; यसले उहाँको साथसाथै आमाको पनि दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्याउँछ;
  • 4 महिनाको उमेरसम्म तपाईंको बच्चालाई आमाको दूध वा नवजात शिशु फर्मुलाबाहेक कुनै खाना नदिनुहोस्। धेरै छिटो ठोस खाना खान सुरु गर्नाले तपाईंको बच्चाले आमाको दूध कम खानुहुनेछ र एलर्जीको विकास हुने उच्च जोखिम हुन्छ।
  • उहाँको पहिलो खानाहरू तयार गर्दा, विभिन्न प्रजाति (अन्न र सिरिअल, सागसब्जी, फलफूल, अण्डाहरू, मासु वा माछा) उपलब्ध गराउनको लागि आइरनयुक्त भएका र परिवारको खाद्य बास्केटबाट खानाहरू छनोट गर्नुहोस्;
  • एक पटकमा एउटा खाना खुवाउनुहोस् र सानो मात्राबाट सुरु गर्नुहोस्;
  • तपाईंको बच्चालाई नयाँ खानाहरू स्वीकार गर्नको लागि समयको आवश्यकता पर्छ। उहाँले खाना थुक्नुभयो वा खान अस्वीकार गर्नुभयो भने, उहाँलाई कर नगर्नुहोस्, केही दिनपछि फेरि प्रयास गर्नुहोस्।

तपाईंसँग आफ्नो बच्चालाई खाना खुवाउनेबारे कुनै प्रश्न छ भने कृपया तपाईंको चिकित्सक वा नर्ससँग सम्पर्क गर्नुहोस्।

6 देखि 24 महिना पुगेका बालबालिकाका लागि स्वस्थ्यकर खानपिन बारे थप जान्नको लागि, कृपया हातेपुस्तिकाहरू " अगाडि बढ्ने", " तयार रहने" र " 7 दिनको स्वस्थकर खाना योजना निर्देशिका" को सन्दर्भ लिनुहोस्

सम्बन्धित भिडियो