निर्धारण नगरिएका महत्त्वका अस्वाभाविक स्क्वामस कोषहरू (ASCUS) उच्च जोखिमयुक्त HPV परीक्षण गरियो
सर्भिकल स्क्रिनिङ परीक्षणले ASCUS रहेको देखाएमा, यसको अर्थ माइक्रोस्कोपमुनि कोषहरू सामान्य कोषहरू भन्दा केही फरक हुन्छन् तर तिनको अवस्थामा आएको ह्रासको डिग्री क्यान्सरपूर्व कोषहरू भन्न पर्याप्त हुने गरी गम्भीर हुँदैनन्। सर्भिकल स्क्रिनिङ परीक्षणहरूमा ASCUS सबैभन्दा धेरै देखिने असामान्यता हो: स्क्रिनिङ परीक्षण गराउने हरेक 100 महिलामध्ये, लगभग 3 देखि 5 जनामा माथि उल्लेखित परिणाम देखिने छ र जसमध्ये 50% का कोषहरू 4 देखि 6 महिनापछि सामान्य अवस्थामा फर्किने छन्। HPV ट्रायेज एक अतिरिक्त परीक्षण हो। यो पाठेघरका कोषहरू उच्च जोखिमयुक्त ह्युमन पेपिलोमाभाइरस (HPV) बाट सङ्क्रमित छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न गरिन्छ। यसले समय बित्दै जाँदा कोषहरू पूर्व-क्यान्सरयुक्त वा क्यान्सरयुक्त कोषहरूमा परिवर्तन हुने जोखिमको थप मूल्याङ्कन गर्दछ किनभने पाठेघरको क्यान्सरका लगभग सबै केसहरू उच्च जोखिमयुक्त HPV को निरन्तर सङ्क्रमणको कारणले हुन्छन्।
- यदि पाठेघरका कोषहरू उच्च जोखिमयुक्त HPV बाट सङ्क्रमित भएका छैनन् भने, कोष गम्भीर रूपमा बिग्रने सम्भावना धेरै कम हुन्छ। त्यसकारण, महिलाहरूले पाठेघरको मुखको परीक्षण 3 वर्षपछि मात्र दोहोर्याउनुपर्ने छ। स्मियर परीक्षण दोहोर्याउँदा नतिजा सामान्य आएमा, उनी अन्य महिलाहरू जस्तै नियमित स्क्रिनिङ जारी राख्न सक्छिन्। दोहोर्याइएको परीक्षणको नतिजामा अझै असामान्य कोषहरू वा कोषहरूको अवस्था थप बिग्रँदै गएको देखिएमा, उनलाई कोल्पोस्कोपीका लागि विशेषज्ञ क्लिनिकमा रिफर गरिने छ।
- पाठेघरको मुखका असामान्य कोषहरू उच्च जोखिमयुक्त HPV बाट सङ्क्रमित भएको देखिएमा, यी कोषहरू गम्भीर रूपमा बिग्रने वा क्यान्सरमा परिणत हुने सम्भावना रहन्छ। त्यसकारण, महिलाहरूलाई कोल्पोस्कोपीका लागि विशेषज्ञ क्लिनिकमा रिफर गरिने छ। पाठेघरको मुखका कोषहरू गम्भीर रूपमा बिग्रेको अवस्थाबाट क्यान्सरमा परिणत हुन सामान्यतया 5 देखि 10 वर्ष लाग्ने भएकोले, यस अवस्थाले तत्काल कुनै खतरा निम्त्याउँदैन, त्यसैले कृपया अत्यधिक चिन्ता नलिनुहोस्।
कोल्पोस्कोपी भनेको के हो?
कोल्पोस्कोपी भन्नाले म्याग्निफाइङ ग्लास प्रयोग गरेर गरिने योनि र पाठेघरको परीक्षणलाई बुझाउँछ। यो परीक्षण प्रक्रिया क्लिनिकहरूमा एनेस्थेसिया विना नै गर्न सकिन्छ र लगभग 10 मिनेट लाग्ने छ।
प्रक्रियाहरू
चिकित्सकले कोल्पोस्कोप घुसाउने छन्, योनि र पाठेघरको मुखमा विशेष औषधीजन्य घोल लगाउने छन् र त्यसपछि कुनै पनि असामान्य घाउ पहिचान गर्न म्याग्निफाइङ ग्लास प्रयोग गर्ने छन्। कुनै असामान्य घाउ फेला परेमा, चिकित्सकले उपकरण प्रयोग गरेर तन्तुको सानो टुक्रा निकाल्ने छन् र थप विश्लेषणका लागि प्रयोगशालामा पठाउने छन्।